रुकुमकप फुटबलको उपाधी माछिमी युनाईटेडलाई

रूकुमकप फुटबलको उपाधी माछिमी युनाईटेडले जितेको छ । बिहिबार भएको फाईनलमा सिद्घ गुफा युवा क्लब सल्लेलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै माछिमीले उपाधी जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नियमित ९० मिनेटको समयमा दुबै टीमबाट कुनै गोल हुन नसकेपछि १५ मिनेटको अतिरिक्त समय थपिएको थियो ।
उक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउँमा गएको थियो । पेनाल्टीमा माछिमीका लागि कमल केसी, खुमबहादुर ढकाल, अजय खड्का र किरण केसीले गोल गरे । सिद्ध गुफाका कप्तान सुदिप चन्द र संकेत बुढाथोकीले गोल गर्न नसक्दा रमेश बोहोराले मात्र गोल गरेका थए ।गतवर्ष पनि उपाधीका लागि यी दुई टीम विचमै प्रतिस्पर्धा भएकामा पेनाल्टी सुटआउटमै सिद्घ गुफा विजयी भएको थियो । विजेता माछिमीले ८० हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेता सिद्घ गुफाले ५० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनलमा पुग्ने रूक्मेणि मावि ए र प्रफि यातायातले २०÷२० हजार नगद प्राप्त गरेका छन् ।
यसैविच प्रतियोगीताको अनुशासित टीम झुल्खेत स्टेड घोषित भयो । त्यस्तै उत्कृष्ट खेलाडी माछिमी युनाईटेडका कमल केसी, युवा खेलाडी सिद्घ गुफाका संकेत बुढाथोकी, वेष्ट स्कोरर रूक्मेणि माविका सनम बुढाथोकी र वेष्ट डिफेण्डर पनि रूक्मिणिकै विकास थापा घोषित भए ।
वेष्ट गोल किपर माछिमी युनाईटेटका बिष्णु ओली बन्दा वेष्ट मिडफिल्डर पनि माछिमीकै किरण केसी बने । उत्कृष्ट खेलाडीले ५ हजार र अन्यले ३÷३ हजार नगद सहित ट्रफि हात पारे । एक कार्यक्रमका विच प्रतियोगीताको समापन गरिएको हो । संस्थाका अध्यक्ष सुबोधराज सिर्पालीको अध्यक्षतामा भएको स्थानिय विकास अधिकारी नरेन्द्र कुमार राणाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन संथाका सदस्य जिवन केसीले गरे । यस्तै प्रतियोगीता संचालनमा सहयोग पु¥याउने विभिन्न संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप), रोयल सिङ्गे होटेल दरबार मार्ग काठमाडौ, हिल साइड प्रपटी प्रा.लि घोराही दाङ र रुक्मिणी मा.बि.रुकुमकोट लगायत विभिन्न संघ सस्था तथा व्यक्तिहरुको प्रयोजनमा समृद्ध समाज नेपाल रुकुमले प्रतियोगीता आयोजना गरेको हो ।
प्रतियोगीतामा जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको थियो ।