गोजुरियो पदक विजेता सम्मानित

gijurioe
पाँचौं एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई बानियाँटारस्थित पारा माउन्ट एकेडेमीले शनिबार सम्मान गरेको छ । साउन २७ देखि ३० गतेसम्म मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण र ९ कांस्य पदक जितेको थियो ।
भेट्रान्स एकल कातातर्फ विशनसिंह खड्का, ६१ केजीमाथि सोनु थापा तथा टिम कुमुतेमा सागर न्यौपाने, सागर भेट्वाल र राजन भोलुन तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए ।
त्यस्तै भेट्रान्स एकल कातामा पेम्बा तामाङ, टिम कुमुतेमा सुमन तिमल्सिना, प्रकाश गुरुङ र सुरज तामाङ, १०–११ वर्षको कुमुतेमा नेत्रकुमार थापा र मोहित परियार तथा ८४ केजीमाथि र एकल कातामा अनिश ठाकुरले कांस्य जितेका थिए । स्वर्ण विजेता सोनुले टिम कुमुतेमा पनि थप १ कांस्य हात पारे ।
सोही अवसरमा एसियाली गोजुरियो कराते महासंघको महासचिवमा निर्वाचित बिआर मित्र र कोषाध्यक्षमा निर्वाचित सीताराम कँडेल पनि सम्मानित भए । त्यस्तै एसियाली गोजुरियो कराते महासंघ (एजीकेएफ) को रेफ्रीमा उत्तीर्ण सिपी घर्ती मगर तथा जजमा उत्तीर्ण हुन सफल सानुबाबु गिरी र सुमन तिमिल्सिना समेतलाई सम्मान गरिएको थियो । अफिसियल प्रमोद पाण्डे र संगम रिजाल पनि सम्मानित भए ।
उनीहरुलाई पारामाउन्ट एकेडेमीमा आयोजित कार्यक्रम सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र सांसद् एवं पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसीले सम्मान गरे ।

Comment