नेपाली खेलाडीको पहिलो बायोग्राफी आउँदै

surendra hamal
कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमालको बायोग्राफी आउने भएको छ । आइतवार नेपालगन्जको घरवारीटोलस्थित निवासमा भएको अनौपचारिक भेटघाटमा ओलम्पियन हमालले पत्रकारहरुलाई आफ्नो आत्मकथा आउन लागेको जानकारी दिए । नेपाली भारोत्तोलनका सर्वाधिक सफल खेलाडी हमालको आत्मकथा यही भदौ तेस्रो साता ‘बजारमा आउने तयारीका साथ काम भइरहेको उनले बताए । यसको लेखन, सम्पादन र प्रकाशनको सम्पुर्ण जिम्मेवारी क्रिएटिभ बुक्सले लिएको छ । दुई बर्षअघि क्यान्सरबाट पीडित भई उपचारपछि निको भएका हमालले त्यतिबेलादेखि नै जीवनलाई समिक्षा गर्न थालेको सुनाए ।
सन् १९८४मा अमेरिकाको लसएञ्जल्समा सम्पन्न विश्व खेलकुदको महामेला ओलम्पिकको २३औं संस्करणमा सहभागि भएका हमालले सन् १९८३मा सिरियामा भएको एशियन भारोत्तोलन च्याम्पियनसीपमा कास्य पदक जितेका थिए । यो नै नेपाली भारोत्तोलनको ठुलो पदक हो । दक्षिण एशियाली महासंघीय खेलकुद(साफ)को पहिलो र दोस्रो संस्करणमा रजत पदकधारी हमालले साफका आधा दर्जन बढी पदक हात पारेका छन् । उनी हाल राष्टिय खेलकुद परिषदमा कोषाध्यक्षको जिम्मेवारीमा छन् ।

Comment