नेहा र सिद्धार्थ चेस च्याम्पियन

photo birjungeबीरगञ्ज
पर्सा जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित पशुपति घोषस्मृति अन्तर स्कुल चेस प्रतियोगितामा छात्रातर्फ मनकामना माविकी नेहा शाह प्रथम भईन । उनले ५ चरणको खेलमा ४ जीत र १ बराबरी खेलेकी थिइन् । त्यस्तै समान अंक भएपनि प्रोग्रेसिव टाईब्रेकमा हिमालयन माविकी सुजीता पटेल दोश्रा भईन् । यसैगरी जिएफपी माविकी बिन्दिरा अधिकारी तृतीय भइन् ।
दुई दिने प्रतियोगितामा छात्रतर्फ दिल्ली पब्लिक स्कुलका सिद्धार्थ बत्स ६ चरणको खेलमा शतप्रतिशत जीतका साथ च्याम्पियन बने । यस्तै समान ५ अंक भएपनि प्रोग्रेसिवमा श्री नृसिंह उमाविका उत्तम गुप्ता दोश्रा र मनकामना माविका अमन गुप्ता तेश्रा भए ।
बीरगंज उप–मनपाको प्रायोजन र पर्सा जिल्ला बुद्धिचाल संघको सह आयोजनामा संचालित खेलको विजेता तथा सहभागीहरुलाई प्रमुख अतिथि पर्सा जिल्लाका सिडिओ केशवराज घिमिरे, नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजु, केन्द्रिय सदस्य रामकिशोर सिंह पराग, बीरगंज उप–मनपाका प्रतिनिधी ई. प्रकाश अमात्य लगायतले ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरे ।
रानीसति अतिथि सदनमा संचालित प्रतियोगितामा पर्सा जिल्लाका २७ स्कुलहरुबाट ३४ छात्रा र ४६ छात्र गरी ८० जना खेलाडीहरु सहभागी थिए ।

Comment