राष्ट्रपति रनिङ सिल्डको पहिलो दिन चार कीर्तिमान कायम

athletics1
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन एथलेटिक्सतर्फ चार नयाँ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनेको छ ।त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको १ हजार ५ सय मिटर दौडको छात्रमा मध्यमाञ्चलका अजितकुमार यादव र छात्रामा मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा छात्र सटपुटमा मध्यपश्चिमाञ्चलका तिलक विक र छात्रा त्रिपलजम्पमा पश्चिमाञ्चलकी विपना परियारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
निर्धारित दूरी ४ मिनेट १४.५ सेकेन्डमा पूरा गर्दै अजितले २०६० सालमा मध्यमाञ्चलका राधेश्याम कावाले बनाएको ४ मिनेट १७.३० सेकेन्डको कीर्तिमान भंग गरे । पश्चिमाञ्चलका रोहित अधिकारी दोश्रो र पूर्वाञ्चलका प्रकाश दनुवार तेश्रो भए ।
मञ्जुले दूरी पूरा गर्न ५ मिनेट १०.४ सेकेन्ड समय लगाइन् । मञ्जुले २०७१ सालमा मध्यमाञ्चलकी संगीता खड्काले स्थापित गरेको ५ मिनेट १२ सेकेन्डको कीर्तिमानलाई विस्थापित गरेकी हुन् । पूर्वाञ्चलकी दीपा बस्नेत दोश्रो र मध्यपश्चिमाञ्चलकी निर्मला केसी तेश्रो बने ।
सटपुटमा कीर्तिमान बनाएका तिलकले १४.५४ मिटर टाढा फाले । मध्यमाञ्चलकै प्रशान्त महतोको नाममा १४.१२ मिटरको कीर्तिमान थियो । प्रशान्तले उक्त कीर्तिमान २०५६ सालमा कायम गरेका थिए । पश्चिमाञ्चलका बसन्त गुरुङ दोश्रो र मध्यमाञ्चलका वीरेन्द्र चौधरी तेश्रो स्थानमा रहे ।
विपनाले १०.५२ मिटर जम्प गर्दै मध्यपश्चिमाञ्चलकी केशरी चौधरीले २०६३ सालमा बनाएको १०.२२ मिटरको कीर्तिमान तोडिन् । केशरी यो स्पर्धाकी राष्ट्रिय कीर्तिमानधारी हुन् । १२.२० मिटरको राष्ट्रिय कीर्तिमान केशरीको नाममा यथावत् छ । मध्यमाञ्चलकी जस्ता महतो दोश्रो र पूर्वाञ्चलकी रिना रावल तेश्रो भए ।छात्रा सटपुटमा पश्चिमाञ्चलकी बसन्ती बुढा पहिलो भइन् । बसन्तीले १०.०३ मिटर टाढा फ्याकिन् । मध्यपश्चिमाञ्चलकी सीता बुढा दोश्रो भइन् भने पूर्वाञ्चलकी विनिता राई तेश्रो बनिन् ।
छात्र त्रिपलजम्पमा पहिलो भएका मध्यमाञ्चलका भुवन महतोले १३.५९ मिटर फ्याके । मध्यपश्चिमाञ्चलका सियाराम थारु दोश्रो र महेन्द्र विक तेश्रो भए ।प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक विशेष कार्यक्रमबीच उद्घाटन गरिन् ।सो अवसरमा राष्ट्रपति भण्डारीले विद्यालय तहको खेलकुदले विद्यार्थीलाई आफ्नो रुचीको विभिन्न खेलमा सहभागी जनाउन वातावरण तयार गरी प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने बताइन् । राष्ट्रपति भण्डारीले सरकार, खेलाडी, प्रशिक्षक र खेलकुदसंग सम्बन्धित विभिन्न संस्था एक आपसमा हातेमालो गर्दै अगाडि बढे नेपाली खेलाडीको मनोबल उच्च भइ अन्तर्राष्ट्रिय जगतमा अझ बढी सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गरिन् ।
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले समग्र समाज र देशलाई स्वस्थ्य, सभ्य, सुसंकृत, अनुशासित र विकसित बनाउन खेलकुदको अहम भूमिका रहने विचार व्यक्त गरे ।
राखेप सदस्य–सचिव केशवकुमार विष्टले दुई ठूला प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद आयोजना गर्ने सन्दर्भमा परिषद्ले आफ्नो सम्पूर्ण जिम्मेवारी समयमै पूरा गर्ने विश्वास दिलाए ।
तीनदिने प्रतियोगितामा विभिन्न ८ खेलमा पाँच विकास क्षेत्रबाट ७ सय २७ खेलाडीले ५३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment