मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रोड रेस

Manoj Shiama
1 June, 2025 9:58 pm

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा १० र ५ किलोमिटर खुला रोड रेस प्रतियोगिता हुने भएको छ । एकेडेमीले २४ जेठमा ‘मदन भण्डारी कप खुल्ला दौड प्रतियोगिता २०८२ (रोड रेस १० कि.मी., ५ कि.मी.)’ सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागेको हो । प्रतियोगिताको पुरस्कार राशि १० किलोमिटर महिला÷पुरुषतर्फ पहिलो ५० हजार, दोस्रो ३० हजार, तेस्रो २० हजार, चौथो १५ हजार र पाँचौँ स्थान हात पार्नेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । 

यस्तै, ५ किलोमिटर (यु–१८ खुल्ला विद्यालय स्तरीय छात्र÷छात्रा कर्णाली प्रदेशका मात्र) तर्फ पहिलो २० हजार, दोस्रो १५ हजार, तेस्रो १० हजार, चौथो ५ हजार र पाँचौँलाई तीन हजार रुपैयाँ छ । प्रतियोगितामा सहभागी दसौँ स्थान हासिल गर्ने खेलाडीलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता बिहान ७ बजे वीरेन्द्रनगरस्थित घण्टाघरबाट सुरु हुनेछ ।

‘सबैका लागि खेल’ भन्ने नारासहित मदन भण्डारी स्पोर्टस एकेडेमीले स्थापना कालदेखि स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न विधामा खेल प्रतियोगिता, तालिम, प्रशिक्षणसँगै खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सक्रियताका साथ खेल गतिविधि सञ्चालन गर्दै आएको एकेडेमीका कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले बताए । कर्णालीमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुदको तयारीकै रूपमा प्रतियोगिता आयोजना हुन लागेको उनले बताए ।