शुक्रवार देखि साफ क्लब महिला च्याम्पियनसिप 

Manoj Shiama
5 December, 2025 5:42 am

काठमाडौं । दक्षिण एसियाली फुटबलमा शुक्रवार काठमाडौँमा साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदै छ । च्याम्पियनसिपमा नेपालको लिग च्याम्पियन एपीएफ क्लबसहित दक्षिण एसियाका ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

मालदिभ्स र श्रीलङ्का बाहेक दक्षिण एसियाका बाँकी पाँच राष्ट्रको महिला लिग च्याम्पियन क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् ।

त्यसका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

बिहीबार भएको प्रि म्याच कन्फ्रेन्समा उपस्थित एपीएफ सहित चार टोलीका कप्तान र प्रशिक्षकले च्याम्पियनसिपका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताएका छन् । भारतको इस्ट बङ्गाल टोली भने फ्लाइट डिले हुँदा बिहीबार दिउँसो सम्म मात्र काठमाडौं आइपुगेको थियो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता आफ्नै घरेलु मैदानमा खेल्न पाउँदा एपीएफ क्लबका कप्तान अनिता बस्नेतले उत्साही रहेको बताइन् । 

पछिल्लो समय नेपालको महिला खेलाडीले लगातार जसो अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलहरू खेल्दै आएकोले एपीएफले टिमको रूपमा सँगै प्रशिक्षण गर्न पाएको छैन  ।त्यसमा भने केही तालमेल मिलाउन कठिन हुन सक्ने उनले बताइन् ।

नेपालका तीन चर्चित खेलाडी सावित्रा भण्डारी, प्रीति राई र एन्जिला तुम्बापो सुब्बा विदेशी क्लबमा खेलिरहेकोले एपीएफको टिममा छैनन्।

एपीएफका मुख्य प्रशिक्षक जिवेश पाण्डेले उनीहरूको स्थानमा अरू खेलाडीहरू राखेकोले र राम्रो खेल्ने विश्वास गरे । तीन खेलाडीहरूलाई टिमले मिस गर्ने तर अन्य खेलाडीको लागि पनि यो प्रतियोगिता राम्रो अवसर हुने पाण्डेले बताए ।

सहभागी ५ टोली नै राम्रो रहेको र एपीएफ टिम पनि राम्रो रहेको प्रशिक्षक पाण्डेले बताए ।यस्तै कप्तान अनिताले एपीएफले राम्रो खेलेमा उपाधि जित्ने सम्भावना रहेको बताइन् ।

यस्तै बङ्गलादेशी क्लब नसरिन स्पोट्र्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानको कराची सिटी एफसीका कप्तान र प्रशिक्षकले पनि साफ क्लब महिला च्याम्पियनसिप खेल्न उत्साही रहेको र राम्रो प्रदर्शन गर्ने बताए ।