अन्तर्राष्ट्रिय कराते बिहीबारदेखि

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा कुमुतेमा २२ र कातामा ४ गरी जम्मा २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख एवं प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित ६ दक्षिण एसियाली राष्ट्रका ८ सय २० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालबाट सर्वाधिक ४ सय खेलाडीले भाग लिने छन् । संयोजक ओझाका अनुसार भारतबाट ३ सय ५०, श्रीलंकाबाट २५, बंगलादेशबाट २०, पाकिस्तानबाट १५ र भुटानबाट १० खेलाडी सहभागी हुने छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने तीनदिने प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख ५७ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।

Comment