१०औँ राष्ट्रिय महिला बास्केटबल : बुढानीलकण्ठ समूह चरणमा अपराजित

बुढानीलकण्ठ नगरपालिकाले १०औँ राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीन वटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको समूह बी मा रहेको बुढानीलकण्ठले मंगलबार ट्रेनिङ ग्राउन्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जितेको छ ।
निके प्रतिस्पर्धात्मक खेलमा बुढानीलकण्ठले १४-१४, १२-८, १७-२३, १४-५ को प्रदर्शन गरेको थियो । खेलमा बुढानीलकण्ठकी अनुसा मल्लले सर्वाधिक २७ अङ्क जोडिन् । उनी प्लेयर अफ दि म्याच घोषित भइन् ।
समूह बी मा बुढानीलकण्ठ ६ अङ्क जोडेर शीर्ष स्थानमा रह्यो । यसै समूहको अर्को खेलमा ट्रेनिङ ग्राउन्डले लुम्बिनी प्रदेशलाई ७७-६ को फराकिलो अन्तरले हराउँदै समूह उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनायो । एकपक्षीय खेलमा ट्रेनिङ ग्राउन्डले ३३-०, १४-४, १७-०, १३-२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
ट्रेनिङ ग्राउन्डकी विनामनी योन्जनले सर्वाधिक १५ अङ्क जोडिन् भने हिरा बोहरा प्लेयर अफ दि म्याच घोषित भइन् ।
तीन मध्ये दुई जित र एक हारबाट ५ अङ्क जोड्दै ट्रेनिङ ग्राउन्ड उपविजेता को रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै समूह ए अन्तर्गत मंगलबार सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी भए ।
सुनसरीले रोमाञ्चक खेलमा आइएस नेपाललाई ३८-३६ को अन्तरले हरायो ।
सुरुवाती दुई क्वाटरमा आइएस ले ४-३ र १०-७ को अग्रता लिए पनि सुनसरीले तेस्रो क्वाटर १३-१३ को बराबरी गरेको थियो भने चौथो क्वाटर १५-९ ले आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित हात पारेको हो । यस खेलमा सुनसरीकी हिमखेन लिम्बुले ८ अङ्क स्कोर गरिन् भने सुनिता लिम्बु प्लेयर अफ दि म्याच घोषित भइन् ।
यस्तै अर्को खेलमा अन्नपूर्णले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो । अन्तपूर्णले खेलमा १५-९, ५-७, ९-९, १९-१६ को प्रदर्शन गरेको थियो । अन्नपूर्णकी निर्भय शर्माले सर्वाधिक २५ अङ्क स्कोर गरिन् र शर्मा नै प्लेयर अफ दि म्याच घोषित भइन् ।
समूह ए बाट आइएस समूह विजेता र सुनसरी समूह उपविजेता को रूपमा सेमिफाइनल प्रवेश गरेका छन् । अब सेमिफाइनलमा समूह ए को विजेता आइएसले समूह बी को उपविजेता ग्राण्डी स्टार्सँग खेल्नेछ भने समूह बी को विजेता बुढानीलकण्ठले समूह ए को उपविजेता सुनसरीसँग खेल्नेछ । दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ ।
नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गरेका हुन् ।
असार ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।
