१०औँ राष्ट्रिय महिला बास्केटबल : बुढानीलकण्ठ  र आइएसएको लगातार दोस्रो जित

Manoj Shiama
16 June, 2026 11:12 pm


बुढानीलकण्ठ नगरपालिका र आइएसए नेपालले १०औँ राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन समूह बी मा रहेको बुढानीलकण्ठले लुम्बिनी प्रदेशलाई ५४-२५ को फराकिलो अन्तरले हरायो ।
बुढानिलकण्डले तीन क्वाटर आफ्नो पक्षमा पार्दा एक क्वाटरमा दुवैले समान अङ्क जोडेको थियो । बुढानिलकण्डले  २०-६, १४-१४, १०-३, १०-२ को प्रदर्शन गर्‍यो । बुढानीलकण्ठकी लोरिशा गौचन प्लेयर अफ दि म्याच भइन् भने अनुसा मल्लले सर्वाधिक ११ अङ्क स्कोर गरिन् ।
बुढानीलकण्ठले पहिलो खेलमा ग्राण्डी स्टार्सलाई पराजित गरेको थियो । समूह बी कै अर्को खेलमा ग्राण्डी स्टार्सले ट्रेनिङ ग्राउन्डलाई ५५-३४ ले पराजित गर्दै पहिलो जित हात पार्‍यो । ग्राण्डी स्टार्सले ट्रेनिङ ग्राउन्ड विरुद्ध १५-६, ९-१४, १७-७, १४-८ को प्रदर्शन गर्‍यो । ग्राण्डी स्टार्सकी विनामनी योन्जनले सर्वाधिक १४ अङ्क स्कोर गरिन् । उनी प्लेयर अफ दि म्याच घोषित भइन् ।  
पहिलो खेलमा लुम्बिनीलाई पराजित गरेको ट्रेनिङ ग्राउन्डको भने यो पहिलो हार हो । यस्तै समूह ए मा रहेको आइएसए नेपालले अन्नपूर्ण बास्केटबल एसोसिएसनलाई ४८-२३ ले हराउँदै लगातार दोस्रो जित हात पार्‍यो । आइएसए पहिलो क्वाटरमा ५-८ ले पछि परे पनि त्यसपछिको तीन क्वाटरमा १४-६, १५-२, १४-७ ले आफ्नो पक्षमा पार्दै विजयी भयो । खेलमा सर्वाधिक १२ अङ्क स्कोर गरेकी आर्शा राज भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् ।
पहिलो खेलमा आइएसए नेपालले लेट्स गो बास्केटबल एकेडेमीलाई पराजित गरेको थियो । यस्तै समूह ए कै अर्को खेलमा सुनसरीले लेट्स गो बास्केटबल एकेडेमीलाई ४१-३३ ले हराउँदै पहिलो जित दर्ता गरेको छ । खेलमा सुनसरीले  १२-५, १४-१६, ५-८, १०-४ को प्रदर्शन गर्‍यो । खेलमा आस्था राई प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १२ अङ्क स्कोर गरिन् ।
नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
असार ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यकाबाहिरबाट सहभागी उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।