ढोरपाटनमा हाइ अल्टिच्युड हाप्किडो प्रशिक्षण

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटनमा ५दिने हाई अल्टिच्युड हाप्किडो प्रशिक्षण हुने भएको छ । बागलुङ जिल्ला हाप्किडो सङ्घको व्यवस्थापन गण्डकी प्रदेश हाप्किडो सङ्घको आयोजना र नेपाल हाप्किडो सङ्घको स्वीकृतिमा सो कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई सफल पार्न ढोरपाटन नगरपालिका र गण्डकी प्रदेश खेलकुद परिषद्ले विशेष समन्वय गर्ने भएका छन् ।
यस अभियानले केवल दक्ष खेलाडी उत्पादन गर्ने मात्र नभई युवाहरूलाई अनुशासित, मर्यादित र जिम्मेवार नागरिक बनाउने लक्ष्य राखेको छ । विशेष गरी युवाहरूलाई लागू औषध र विभिन्न कुलतबाट टाढा राख्दै उनीहरूमा सकारात्मक नेतृत्वदायी क्षमताको विकास गरी समाजका लागि योग्य व्यक्तित्व तयार पार्नु यस कार्यक्रमको मुख्य सङ्कल्प रहेको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रमसँगै च्याम्पियनसिपको पनि आयोजना हुने जनाइएको छ ।
“खेल र खेती“ को नयाँ अवधारणा
यस कार्यक्रमको सबैभन्दा विशिष्ट पक्ष युवाहरूलाई “खेल र खेती“ सँग जोड्नु रहेको छ। खेलकुदको माध्यमबाट शारीरिक र मानसिक रूपमा सबल बनेका युवाहरूलाई आफ्नै माटोमा स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्य राखिएको छ ।
बाँझो जमिन र प्राकृतिक स्रोतको सदुपयोग गर्दै आधुनिक कृषि र पशुपालनतर्फ युवा जनशक्तिलाई आकर्षित गर्ने सन्देश प्रवाह गरिनेछ । यसले वैदेशिक पलायनको लहरलाई रोकी स्थानीय स्तरमै उत्पादन र आर्थिक समृद्धिको ढोका खोल्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
