बागमती प्रदेशलाई हाप्किडो च्याम्पियनसिपको उपाधि

मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ । उपाधि जित्ने क्रममा बागमतीले ३० पदक जितेको हो । यसै गरी लुम्बिनी दोस्रो भयो । कर्णाली तेस्रो भयो ।

महिलामा बागमतीकी मञ्जु गुरुङ तथा पुरुषमा सुदूर पश्चिमका हर्क बहादुर विक वेस्ट फाइटर भए । महिलामा लुम्बिनीकी अङ्किता घर्ती तथा पुरुषमा बागमतीका रमेश तामाङ राइजिङ प्लेयर घोषित भए । पुरुषमा अमृत तामाङ तथा महिलामा वन्दना बस्नेत उत्कृष्ट रेफ्रि घोषित भए ।

पहिलो हुने टोलीले ३०, उपविजयीले २० तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरियो । विजयी टोली तथा खेलाडीलाई प्रतियोगिताका प्रमुख अतिथि बेलकोटगढी नगरपालिकाका मेयर जगत बहादुर गुरुङले पुरस्कार प्रदान गरे । बेलकोटगढी–४ स्थित नेपानेमा भएको प्रतियोगितामा नेपाल हाप्किडो सङ्घका अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासङ्घका अध्यक्ष काली बहादुर घर्ती विशेष अतिथि थिए ।
समापन समारोहमा नेपाल हाप्किडो सङ्घका उप महासचिव मोहम्मद मोहसिन हल्वाई, केन्द्रीय सदस्यहरू मनोज गुरुङ, राजेन्द्र मडै र मुख्य प्रशिक्षण प्रवीण गुरुङ लगायतको उपस्थिति थियो । कालिका माविका प्रधानाध्यापक हरि सापकोटा तथा विकास आवासिय मावीका शिक्षक कृष्ण बहादुर महराको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विकास गुरुङले गरेका थिए । प्रतियोगितामा ७ प्रदेशका ५०० खेलाडीको सहभागिता छ ।
