एपिएफ उपविजेतामा सीमित

Manoj Shiama
21 December, 2025 6:38 am

पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ । शनिवार भएको फाइनलमा कप्तान फजिला इक्वापुटको दुई गोल मदतमा नेपालको एपीएफलाई ३–० ले हराउँदै इस्ट बङ्गाल च्याम्पियन बनेको हो ।

इस्ट बङ्गालका लागि सिल्की देवी हेनानले एक गोल गरिन् । कप्तान फजिला इकापुटले २२औँ मिनेटमा गोल गरेकी थिइन् ।  सरिता युमनानको प्रहार मनमाया दमाईंले हेड मार्फत क्लियर गर्न खोजे पनि सफल नभएपछि फजिलाले बल पाइन् । उनले हानेको प्रहार गीता रानालाई लाग्दै गोल भएको हो ।

३५औँ मिनेटमा असलतादेवीको क्रसमा सिल्की देवी हेनानले पेनाल्टी बक्स भित्रबाट हेड मार्फत गोल गर्दै अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफ सुरु भए लगत्तै फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै इस्ट बङ्गाललाई ३–० ले अगाडि राखिन् । फजिलाले पेनाल्टी बक्सको बाहिरबाट गीता रानालाई छलाउँदै हानेको प्रहार गोल भएको हो ।

विजेता इस्ट बङ्गालले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दा उपविजेता एपीएफले ५ हजार डलर पाएको छ । उपाधि जित्ने क्रममा इस्ट बङ्गाल अपराजित रह्यो । 

त्यसमा युगान्डा राष्ट्रिय महिला फुटबल टिमकी उपकप्तान समेत रहेकी फजिला काठमाडौँमा भएको प्रतियोगिताभर नै पूरा छाइन् । उनले कूल ९ गोल गरिन् ।

पहिलो खेलमा ट्रान्सपोर्ट युनाईटेड लेडिज विरुद्ध दुई गोल गरेकी उनले नसरिन स्पोट्र्स एकेडेमी विरुद्ध ५ गोल गरिन् ।

फजिलाले  सन् २०१८ मा युईएफए महिला च्याम्पियनसिप लिग अन्तर्गत काजकिस्तानको बिक काजीगर्टबाट खेल्दै बार्सिलोना विरुद्ध गोल गरेकी थिइन् । फाइनलअघि दुवै टोली अपराजित थिए ।