नेपाल र बङ्गलादेशको तयारी अन्तिम चरणमा
Manoj Shiama
1 September, 2025 8:48 pm

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबिच २१ र २४ भदौमा दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि टिकट मूल्य तोकिएको छ ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गरेर टिकट दरका बारेमा जानकारी दिँदै खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
टिकट दर सामान्य पारापिटतर्फ रु ५०० र भिआइपी पारापिटतर्फ रु १,००० तोकिएको छ। टिकटको सम्पूर्ण अधिकार एन्फाकै स्वामित्वमा रहने जनाइएको छ ।
खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडी बाट हुनेछ भने मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालि ले पाएको छ । एन्फाका अनुसार बङ्गलादेश टोली सेप्टेम्बर ३ गते काठमाडौं आइपुग्नेछ । उनीहरू भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान र च्यासल रङ्गशालामा अभ्यास गर्ने कार्यक्रम छ ।
खेलको अनुमानित बजेट करिब रु १ करोड २७ लाख छ ।