छनोटको महत्त्वाकाङ्क्षा सहित युवा टोली ताजिकिस्तान यात्रामा

नेपाली यु–२३ युवा टोलीले ताजिकिस्तानमा तय एएफसी यु–२३ एसियन कप क्वालिफिकेसनमा छनोट हुने लक्ष्य राखेको छ ।
नेपाली युवा टोलीले आगामी सेप्टेम्बर ३ देखि ताजिकिस्तानमा हुने यु–२३ एसियन कप क्वालिफिकेसनमा समूह ‘के’ मा प्रतिस्पर्धा गर्दै छ । नेपाली युवा टोलीका प्रशिक्षक नवीन न्यौपानेले तयारी गर्न पर्याप्त समय पाएको र प्रशिक्षण पनि प्रभावकारी भएकाले छनोट हुने लक्ष्य रहेको आशा व्यक्त गरेका छन् ।
शनिवार बिदाइ पछि प्रशिक्षक न्यौपानेले करिब दुई महिनादेखि तयारी गर्ने समयमा पाएको उल्लेख गर्दै यसबिचमा आफूले इन्डुरेन्स र फिटनेसमा बढी ध्यान दिएको बताए । सिनियर राष्ट्रिय टोलीबाट नै खेलिसकेका ४ जना र विभिन्न उमेर समूहबाट खेलका उत्कृष्ट खेलाडी यु–२३ को टोलीमा रहेकाले उत्कृष्ट नतिजा आउनेमा उनी आशावादी छन् ।
न्यौपानेले छनोटको पारदर्शितामा शङ्का नगर्न अनुरोध गरेका छन् । कप्तान आयुस घलानले पनि सन्तुलित टोली बनेकाले छनोट हुने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । प्रशिक्षकको योजना अनुसार आफूहरूले खेल्ने घलानले बताए ।

यस छनोटबाट १६ राष्ट्रले सन् २०२६ को जनवरी ७ देखि २५ सम्म साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपमा स्थान बनाउनेछन् । नेपालको समूहमा सबै बलिया राष्ट्र हुन् । फिफा वरीयतामा धेरै माथिका राष्ट्र रहेको समूहमा नेपालले छनोट हुने लक्ष्य राखेको छ । प्रशिक्षक न्यौपानेले दुई महिना अघि ८९ जनाको प्रारम्भिक टोलीबाट २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङ, महासचिव किरण राई र प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई बिदाइ गरेका थिए । नेपाली टोली आइतबार ताजिकिस्तान प्रस्थान गर्नेछ ।

नेपालले आगामी सेप्टेम्बर ३ मा ताजिकिस्तानसँग खेल्दै छनोट यात्रा थाल्नेछ । त्यसपछि सबैभन्दा बलियो टोली सिरियासँग सेप्टेम्बर ६ र तेस्रो खेल फिलिपिन्ससँग सेप्टेम्बर ९ तारिखमा खेल्नेछ । हरेक ११ वटा समूहका विजेता र उत्कृष्ट ४ उपविजेताले यु–२३ एसियन कपमा स्थान बनाउनेछ । एन्फाका महासचिव किरण राईले खेलमा पछि परेको स्थितिमा पनि सन्तुलन नगुमाई धेर्यताका साथ खेल्न अनुरोध गरे । कार्यक्रम डिज बुटिक होटेलमा भएको हो ।
