पुलिसलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

आयोजक सुदूरपश्चिम–११ छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

धनगढी रङ्गशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४–० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले  अन्तिम चारमा स्थान बनाएको हो । 

सुदूरपश्चिम–११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गोल गरे । सुदूरपश्चिम–११ का लागि सुरुवाती पाँचौँ मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए । 

खेलको ३० औँ मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले दोस्रो हाफमा ५१ औँ र ६३ औँ मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रिक गरे । उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर दश हजार रुपैयाँ पाए ।

नेपाल पुलिसका खेलाडीले खेलमा थुप्रै अवसरहरू पाए पनि गोल गर्न सकेनन् । 

जितसँगै सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान बनाएको छ । अब सुदूरपश्चिमले थ्री स्टार क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । सो खेल १६ चैतमा हुनेछ । 

प्रतियोगिता अन्तरगत बुधवार मनाङ मर्स्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लबले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् । 

मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ । 

Comment