महामारीमा पनि मौका गुमाउदैनन सदस्यसचिव
Manoj Shiama
30 May, 2021 2:26 pm
कोरोना महामारीले नेपाललाई आक्रान्त पारिरहेको समयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) भने अनावश्यक व्यक्तिलाई विदेश भ्रमण गराउने अनाहकमा सम्पत्ति नास गर्नेमा केन्द्रित रहेको छ । नेपाल र इराक बिचको फुटबल मैदानमा यसरी अनावश्यक अफीसीयलको भिड जम्मा गरेर लैजाने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल पनि त्यहाँ पुगेका छन् । एन्फा महासचिव इन्द्र मान तुलाधर भने टोलीको उत्साह बढाउन एन्फाकै अनुरोधमा सदस्य सचिव त्यस तर्फ प्रस्थान गरेको बताउँछन् ।केही दिन यता बुद्धिचाल, तेक्वान्दो, फुल कनट्याक्ट कराँते, साहसिक खेलकुद लगायत खेलमा आबद्ध अनेकौँ खेलकर्मीको निधन भइसकेको छ । यसमा सदस्य सचिवको धारणा आएको छैन । प्रधानमन्त्रीका निकट मानिने सदस्य सचिव सिलवाल आगामी आर्थिक वर्षको बजेट तयार हुँदा समेत खेलाडीको आवाज उठाउन अग्रसर नभएको आरोप धेरैको लाग्ने गरेको छ ।
खेलकुद परिषद् हातामै स्वास्थ्य निकाय रहे पनि देशमा महामारी फैलँदा उनले यसलाई उपयोग गर्ने कुनै पहल गरेनन् । सत्तारुढ एमालेको भातृसंगठन नेपाल खेलकुद महासङ्घले बारम्बार खेलकुद मातहतका धेरै स्थानलाई आइसोलेसन र क्वारेनटाइनको रूपमा प्रयोग गर्न सकिने विषय उठाउँदा सिलवाल मौन रहे ।
बजेटमा अन्य क्षेत्रका व्यक्तिले विशेष सुविधा पाउँदा खेलकर्मी यो सुविधामा पनि वञ्चित रहेका छन् । कोरोनाका कारण ज्यान गुमाउने खेलकर्मीको सवालमा समेत उनी मौन रहेका छन् । देशमा यत्ति कठिन स्थिति आउँदा पनि बे वास्ता गरेको खेलकर्मीको गुनासो रहेको छ ।
पूर्व सदस्य सचिव युवराज लामाले आफ्नो व्यवसायी प्रायोजनका लागि खोलिएका होटेललाई प्रयोग गर्न सकिने जनाए भने सत्तारुढ र प्रतिपक्षी दलका खेलकुदसँग सरोकार राख्ने भातृ सङ्गठनले आफ्नो तर्फबाट महामारी पीडितलाई सहयोग गरिरहेका छन् । यस बिचमा राखेपको प्रतिबद्धता र एकबद्धतामा समेत कन्जुस्याइँ देखिएको छ ।नेपालमा कोरोना महामारी सुरु भए यता जत्ति सुकै संवेदनशील विषय भए पनि यसले राष्ट्रिय खेलकुद परिषद् नेतृत्वलाई असर नै गरेको छैन ।
नेपालमा रहँदा मास्क नै नलगाई सार्वजनिक कार्यक्रममा उपस्थित हुने गरेका सदस्य सचिव रमेश सिलवालको यस महामारीको समयमा पनि कुनै पनि सकारात्मक भूमिका रहेन । नेपालमा कोरोनाको पिसिआर परीक्षण र भ्याक्सिनको सवालमा समेत खेलकर्मीलाई प्राथमिकतामा राख्न सिलवालले कुनै पहल गरेनन् ।
यस वर्ष २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो गत वर्षको भन्दा ३८ करोड रुपैयाले वृद्धि भए पनि सदस्य सचिव लागी परेको भए यो भन्दा बढीको बजेट हुन सक्ने नेपाली खेलका जानिफकारहरू बताउँछन् । साहसिक खेलकुदमा नाममा बजेटमा केही सम्बोधन भए पनि यस सवालमा विगत केही वर्ष देखि पर्वतीय खेलकुद महासङ्घले आवाज उठाउँदै आएको थियो ।
थुप्रै खेलकर्मीको सङ्क्रमणको कारण ज्यान जाँदा समेत यसले सदस्य सचिव सिलवाललाई प्रभाव पारेको छैन । महामारीको समयमा अनावश्यक भ्रमणमा बिताउने सदस्य सचिव सिलवाल तथा शक्तिको निकट रहन अनावश्यक पहल गर्ने एन्फाको गतिविधिले धेरैलाई आश्चर्यमा पारेको छ ।