सशस्त्र र आर्मीको जित
सातौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष फुटबलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाली सेनाको टिमले जित हात पारेका छन् ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘ख’ को लिग खेलमा सशस्त्रले मध्यपश्चिमललाई ८–० को फराकिलो गोल अन्तरले हरायो भने सेनाले सुदूरपश्चिमाञ्चललाई १–० को झिनो गोलअन्तरले पराजित गरे । जितसँगै एपिएफ र सेनाले समान ३÷३ अंक जोडे ।
सशस्त्र र मध्यपश्चिमको पहिलो खेलमा एपिएफका युवराज खड्काले ह्याट्रिकसहित ४ गोल गरे । उनको चारै गोल दोश्रो हाफमा सम्भव भयो । खेलमा पहिलो हाफको १० औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । दोस्रो गोल मध्यपश्चिमले १२ औं मिनेटमा आत्मघाती गोल खायो । एपिएफका श्याम नेपालीको प्रहारलाई रोक्ने प्रयास गर्दा मध्यपश्चिमका चेतन थारुले आफ्नै पोष्टमा गोल गरे भने १४ औं मिनेटमा श्याम नेपालीले तेस्रो गोल गरे । इन्जुरी समयमा राजेन्द्र रावलले गोल गर्दै पहिलो हाफमा एपिएफलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ८ औं, ३४ औं र ४४ औं मिनेटमा गोल गर्दै एपिएफका युवराज खड्काले ह्याट्रिक गरे भने इञ्जुरी समयमा पनि थप एक गोल गर्दै एपिएफलाई ८–० गोलको फराकिलो अन्तरले जित दिलाए ।
दोस्रो खेलमा सेनाले सुदुरपश्चिमलाई १–० ले हराउदा सुमन अर्यालले निर्णायक गोल गरेका थिए । उनले पहिलो हाफको छैटौं मिनेट हेडमार्फत गोल गरे । शनिबार समूह ‘क’ को पहिलो खेल नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रबीच हुनेछ भने दोस्रो खेल मध्यमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।