जुडोको झन्डा र फुपुको तस्विर सगरमाथा पुग्ने

judoe
भारतको सिलोङ्गमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा जुडोमा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी फुपु ल्हामु खत्रीको पदक प्राप्त फोटो सहितको व्यानर र नेपाल जुडो संघको झन्डा सरगमाथामा फहराउने भएको छ । ताप्लेजुङ्ग निवासी फुपुका जेठी आमाका छोरा पेम्बा शेर्पाले स्विस नागरिक कालिङ्ग कोव्लरको नेतृत्वमा सगरमाथा आरोहण गर्न लागेको टोली संगै उक्त कार्य गर्न लागेका हुन् । पेम्बाले ६ पटक सगरमाथाको आरोहण गरि सकेका छन् ।
पेम्बाले आफुले जुडो खेल तथा खेलाडीको लागि आर्थिक सहयोग गर्न नसकेता पनि खेलाडीले प्राप्त गरेको उपलब्धि तथा राष्ट्रको किर्तिमानलाई विश्वको सर्वोच्च शिखरमा फहराउने चाहना रहेको बताए । फुपुका बाबु दोर्जे खत्रीले पनि ९ पटक सगरमाथाको आरोहण गरेका थिए । उनको दुई बर्ष अघि हिम पहिरोमा परि मृत्यु भएको थियो ।
नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य, महासचिव धर्म कुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठ लगायतले संघको झन्डा र फुपुको फोटो रहेको ब्यानर आईतबार पेम्बालाई हस्तान्तरण गर्दै विदाई गरे । टोली २०७२ चैत्र २२ गते सगरमाथा तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Comment