रेखा थापा प्रधानमन्त्री कप भलिबलको गुडवील एम्बेसडर

volleybaalleचर्चित नायिका रेखा थापा प्रधानमन्त्री कप इन्डो नेपाल भलिबलको गुडवील एम्बेसडर भएकी छिन् । बाँके जिल्ला भलिबल संघले सोमबार राजधानीमा आयोजना गरेका कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल ओलेम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टि.एस. ठकुरीले संयुक्त रुपमा नायिका थापालाई प्रधानमन्त्री कप भलिबलको गुडवील एम्बेसडर घोषणा गरेका हुन् ।
बाँके जिल्ला भलिबल संघले आयोजना गर्न लागेको प्रधानमन्त्री कप इन्डो नेपाल भलिबल प्रतियोगिताको यो तेश्रो संस्करण हो । गुडवील एम्बेसडर घोषणापछि नायिका थापाले खेलकुदमा महिलाहरुलाई प्रोत्साहन गर्न आफूले सहयोग गर्ने बताइन । उनले भनिन, ‘हामी सबै महिला मिलेर महिला खेलकुदलाई सशक्त बनाउनु पर्छ । म आफ्नोतर्फबाट सहयोग गर्नेछु ।’राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पनि कला र खेललाई जोडेर भारतमा खेल क्षेत्रको विकास भएको चर्चा गर्दै नेपालमा पनि यस्तो अभ्यासको शुरुवात गरेको भन्दै बाँके जिल्ला भलिबल संघलाई बधाई दिए । उनले भने, ‘सिने क्षेत्रका स्टारको सहभागिता खेल क्षेत्रमा हुने हो भने खेल क्षेत्रमा अझ धेरै स्टार जन्माउन सकिन्छ ।’ कार्यक्रममा नेपाल ओलेम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई कलासँग जोडेर जिल्ला भलिबल संघले खेल क्षेत्रमा नयाँ आयाम थपेको भन्दै प्रशंशा गरे । ‘खेल र कला एउटा सिक्काका दुई पाटा हुन् । यी दुबैलाई सँगै लैजान सकेमा खेल क्षेत्रमा अपेक्षा गरेभन्दा राम्रो परिणाम हासिल गर्न सकिन्छ’, उनले भने, ‘मोफसलमा पनि अन्तर्राष्ट्रिय स्तरका ठूला र स्थापित प्रतियोगिता त्यो पनि रचनात्मक ढंगबाट सञ्चालन हुनसक्छ भन्ने कुराको इन्डो नेपाल भलिबल प्रतियोगिता नमूना हो ।’
नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले खेल क्षेत्रमा सेलिब्रेटीको प्रवेशले खेल क्षेत्रको विकासमा निकै टेवा पुग्ने जिकिर गरे । ‘जुनसुकै खेलमा पनि सेलिब्रेटीको प्रवेश हुने हो भने खेलले गुणात्मक फड्को मार्छ’ उनको भनाइ थियो ।आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टि.एस. ठकुरीले नेपाली खेलकुदका संरक्षक प्रधानमन्त्रीको नाममा नियमित रुपमा आयोजना भइरहेको ‘प्रधानमन्त्री कप इन्डो नेपाल भलिबल’ प्रतियोगिताको नायिका थापा गुडवील एम्बेसडर बनेपछि मध्यपश्चिम क्षेत्रको महिला खेलकुदको विकासमा टेवा पुग्ने जिकिर गरे ।

Comment