एनसिएस झिनो अन्तरले विजयी

नेशनल क्रिकेट स्कुल, काठमाडौंले क्रिकेटको शहर धनगढीमा मंगलबारबाट सुरु भएको डिसिए एनसिएस क्रिकेट सिरिजमा विजयी सुरुआत गरेका छन् । धनगढी क्रिकेट एकेडेमी (डिसिए) लाई एनसिएस ले सात रनको झिनो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
१८२ रनको लक्ष्य पछ्याएको डिसिएले ४१.१ ओभरमा सबै विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो । डिसिएका कप्तान सुवोध ऐर १ रनले अर्धशतक बनाउनबाट चुके । ओपनर राजन ठकुरीले ३ चौका र १ छक्काको मद्दतले २१ रनको पारी खेल्दै पारी उकास्ने प्रयास गरेका थिए । त्यस्तै यम कार्कीले २८, अमन पन्थीले २०, अमित बुढाले १२ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एनसिएसले ओपनर सुनिल थापाको ४९ रनको मद्दतले ४०.४ ओभरमा सवै विकेट गुमाएर १ सय ८१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । जितका लागि कप्तान जितेन्द्र ठकुरीले ३४ तथा उपकप्तान रित गौतमले २२ रनको योगदान दिए । डिसिएका अमित बुढाले ६ ओभरको स्पेलमा ३६ रन दिएर ४ विकेट लिए पनि उनले दिएको अतिरिक्त ११ रन डिसिएका लागी भारी पर्यो । त्यस्तै डिसिएका अमन पन्थि र टेकेन्द्र बोहराले समान दुई विकेट लिए । यि दुई बीच बिहिबार वान डे खेल हुनेछ ।

Comment