१२ औं सागमा बास्केटबल नहुने, नेपालको बास्केटबल टोली गुवाहाटीमा

भारतीय ओलम्पिक संघले भारतको बास्केबल संघमाथि हस्तक्षेप गरेको भन्दै इन्टरनेसनल बास्केटबल फेडेरेसन (फिबा) ले १२ औं दक्षिण एसियाली खेलकुदमा सहभागी सबै राष्ट्रलाई बास्केटबलको प्रतिस्पर्धामा सहभागी नगराउने निर्देशन दिएको छ । योसँगै १२ औं सागमा २२ खेलमा मात्र प्रतिस्पर्धा हुने भएको छ । नेपालको बास्केटबल टोली भने पुर्व निर्धारित कार्यक्रम अनुसार थाइल्यान्डको बैंककबाट सोमबार गुवाहाटी आइपुगेको छ ।
फिबाले मान्यता नदिएको पुनम महाजनले नेतृत्व गरेको भारतीय बास्केटबल संघलाइ भारतीय ओलम्पिक संघले मान्यता दिएपछि फिबाले सो निर्देशन दिएको छ ।१२ औं सागमा पनि पुनमको नेतृत्व गरेको संघले खेलाडी ल्याउने तयारी गरेपछि फिबाले सो निर्देशन दिएको हो । भारतीय बास्केटबल टिम दिल्लीमा रहेको छ । खेल नहुने भएकाले गुवाहाटी नआएको बताइएको छ ।
फिबाले अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र माल्दिभ्सको बास्केटबल संघलाई पत्राकार गरि गुवाहाटी र सिलोङमा जारी रहेको १२ औं सागमा आफ्नो बास्केटबल टोलीलाई नलैजान निर्देशन दिएको हो । फिफाका महासचिव पेट्रिक बाउम्यानले जारी गरेको पत्रमा ‘भारतीय ओलम्पिक संघको हस्तक्षेप स्विकार्न सकिदैन । त्यसैले सागमा हुने बास्केबललाई मान्यता दिइने छैन ।’ ११ देखि १६ फ्रेबेओरीसम्म बास्केबल गुवाहाटीमा हुने तालिका रहेको छ ।नेपालको बास्केटबल टोली सोमबार आफ्नो कार्यक्रम अनुसार बैंककबाट गुवाहाटी आइपुगेको छ । नेपाली बास्केटबल टोलीे थाइल्यान्डको राजधानी बैंककमा सागका लागि विशेष प्रशिक्षण लिइरहेको थियो । नेपालको मात्र होइन माल्दिभ्सबाहेक अन्य देशका टोली पनि गुवाहाटी आइसकेको छन् ।
नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले भने,‘हामीले निकै राम्रो तयारी गरेका थियौं । नेपालले राम्रो पदर्शन गर्न सम्भावना थियो । तर फिबाको गाइडलाइन्सविरुद्ध नेपाल बास्केटबल संघ जान सक्दैन ।’
तथापी दक्षिण एसियाली ओलम्पिक संघको बैठकमा नेपालले ओलम्पिक चार्टड अनुसार आफ्नो निर्णय सुधार्न भारतीय ओलम्पिक संघलाई अनुरोध गरेको शेर्पाले बताए । ‘हामीले भारतीय ओलम्पिक संघलाई आफ्नो निर्णय सुधार्न अनुरोध गरेका छौं । तर उसले स्विकारेको छैन ।’
नेपाली टिमका लागि यस अघि नै गुवाहाटी आउने टिकट काटिसकिएकोले नेपालको टिम गुवाहाटी आइसकेको छ । ‘भारतले आफ्नो निर्णय सच्चाएको खन्डमा खेल हुन सक्छ । किनकि सबै टिम गुवाहाटीमै छ ।’ उनले भने ।

Comment