गौरीका र मन्देकाजी उत्कृष्ट  खेलाडी ,नवीन उत्कृष्ट प्रशिक्षक

पौडीकी गौरीका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मङ्गलवार आयोजना गरेको कार्यक्रममा गौरीका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ उत्कृष्ट चुनिएका हुन् ।
घरेलु भूमिका आयोजित१३ औ दक्षिण एसियाली खेलकुद सागमा ४ स्वर्ण जितेकी गौरीकाले स्वर्णधारी खेलाडी कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै सर्वोत्कृष्ट घोषित भइन् ।
मन्देकाजीले सागकै स्वर्णधारी फुटबल खेलाडी विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पारे ।
भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज विधाको अवार्ड हात पारिन् । पौडीकी गौरीका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अरुण वर्षकी लोकप्रिय खेलाडी घोषित बन्न सफल भइन् ।
२७ बर्सिया अवार्ड विजेता खेलाडी अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन् भने पौडीकी गौरीकाले १३.३०१ प्रतिशत मत हासिल गरेकी थिइन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन् ।
यस्तै, गल्फका सुवास तामाङ वर्ष युवा खेलाडीको अवार्ड जित्न सफल भए । तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै सागका दोहोरो स्वर्ण विजेता सुवास युवा खेलाडीको अब्बल ठहरिए ।
तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरे । उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शङ्कर कार्कीलाई पछि पार्दै नवीन उत्कृष्ट ठहरिएका हुन् ।
तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले स्पेसल अवार्ड प्राप्त गरे । एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण विजेता महिला भलिबलले टिम अफ द इयरको अवार्ड प्राप्त गर्‍यो ।
मञ्चले यस वर्ष पूर्व टेबल टेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्‍यो ।
दिगमसिंहले पारा एथ्लिट अवार्ड प्राप्त गर्दा मलेसियाका अहमदखवारी इशा एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डबाट सम्मानित भए ।
वर्ष पुरुष, महिला, प्रशिक्षक र युवा गरी चार विधाका विजेता खेलाडी तथा प्रशिक्षकले पल्सरको मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
हंसराज हुलास चन्द एन्ड कम्पनीको मुख्य प्रायोजनमा सञ्चालित अवार्ड माडिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य रहेको थियो । सह–प्रयोजकको रूपमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटेल क्राउन प्लाजा, रोयल सिंगीहोटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी रहेका थिए ।
Comment