जुडो अध्यक्षमा वज्राचार्य तेश्रो पटक निर्विरोध

judoe
नेपाल जुडो संघको अध्यक्षमा दीपकहर्ष वज्राचार्य लगातार तेश्रोपटक निर्विरोध निर्वाचित भएका छन् । मंगलबार अबेर सम्पन्न संघको पाँचौं साधारणसभाले संस्थापक महासचिव वज्राचार्यको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा खड्गबहादुर दाहाल तथा उपाध्यक्षमा सुदेव महत, पीयूष श्रेष्ठ, रमेश महर्जन र बाबुराजा महर्जन रहेका छन् । अघिल्ला कार्यसमितिका सचिव धर्मकुमार श्रेष्ठ महासचिवमा पदोन्नती भए । सूर्यनारायण श्रेष्ठले उपमहासचिव, हेमराज भण्डारीले सचिव, विपिनप्रसाद श्रेष्ठले कोषाध्यक्ष तथा दिनेश आचार्यले कोषाध्यक्षको जिम्मेवारी पाए ।
सुरजकाजी डोटेल, मनोजबहादुर केसी, माधवराज अधिकारी, धर्मरत्न पाछै, प्रमोदप्रसाद नेपाल, रामकृष्ण विसी, विष्णुबहादुर गुरुङ, ओलम्पियन ऋषिराम प्रधान तथा गंगाबहादुर डंगोल सदस्यमा निर्विरोध बने ।राजेश श्रेष्ठ, पदमबहादुर बुढाथोकी, तेजेन्द्र थापा, ओलम्पियनद्वय इन्द्र डंगोल र देबु थापा, पृथ्वी आलोक तथा चन्द्र डंगोल सदस्यमा मनोनित भए । जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितलाई पदेन सदस्यमा मनोनित भए ।त्यस्तै सिद्दिबहादुर शाक्य, धर्मशीला चापागाईं, हरिप्रसाद श्रेष्ठ, लक्ष्मीरत्न तुलाधर र शैलेन्द्रमान श्रेष्ठ सल्लाहकारमा चयन भए ।
पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेतले शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए । त्यसअघि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले साधारणसभाको उद्घाटन गरेका थिए ।यसैबीच राखेप सदस्य–सचिव केशवकुमार विष्टले पदाधिकारीहरुलाई राखेप हातामा बुधबार स्वागत गर्नुका साथै सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

Comment