जुडो स्टार फुपु हंगेरीतर्फ

phupu lamhue
बर्तमान नेपाली जुडो बृत्तकी महत्वपूर्ण खेलाडी फुपुल्हामु खत्री ओलम्पिक सोलिडारिटी छात्रवृत्तिअन्तर्गत तालिममा सहभागी हुन आइतबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेकी छन् । फुपुसंगै प्रशिक्षक एवं ओलम्पियन देबु थापा पनि आइतबारै हंगेरी लागिन् । मद्रास साफमा सनसनीपूर्ण प्रदर्शन गरेको नेपाली जुडोको पुनरागमनको युगमा फूपुले आसन्न सागमा महत्वपूर्ण सफलता पाउदै महत्वपूर्ण कोशेढुंगा पार गर्ने अपेक्षा गरिएको छ ।
नयाँ बजारको बहुउद्धेशीय मार्सल आर्ट केन्द्रकी उत्पादन फूपुको प्रदर्शन नेपालका लागि महत्वपूर्ण हुने कुरामा उनलाई सुरुवाती दिनमा नै जुडो सिकाउने प्रशिक्षक धर्म कुमार श्रेष्ठ बताउछन् । उनको जुडो यात्रामा प्रशिक्षक चन्द्र डंगोल र श्रेष्ठको योगदान महत्वपूर्ण रहेको छ । उनका प्रशिक्षक भएकै कारण फूपुका बाबु दिवंगत दार्जे खत्रीका निकट भएका धर्म फूपुको स्तरीयतामा दोर्जे सधै सचेत रहने गरेको बताउछन् । हिमाल आरोही दोर्जेको गत बर्ष हिउ पहिरोमा परी निधन भएको थियो ।भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएकी फुपु १२ तारिख सागको जुडो आयोजनास्थल सिलोङ पुग्नेछिन् । सागमा सहभागिता जनाएपछि फुपु सिलोङबाटै फेब्रुअरी १८ तारिखमा पुनः हंगेरी जाने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । फुपु अगष्ट १ तारिखसम्म हंगेरीमै तालिममा रहने छिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले फुपु र देबुलाई त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा आइतबारै बिदाइ गरे । पदकको आशा गरिएकी फुपुले महिलाको ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् ।

Comment