जुडो टोली भोपाल प्रस्थान

judoe
थप तयारीका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली जुडो टोली बुधबार भारतको भोपाल प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई सातदोबाटोमा बिदाइ गरे । १४ खेलाडी मध्ये १२ खेलाडी सागका लागि छनोट भएका खेलाडी हुन् । पुरुषको ६० केजीमा इन्द्रबहादुर श्रेष्ठ, ६६ केजीमा रमेश मगर, ७३ केजीमा संजित डंगोल, ८१ केजीमा पवनकुमार श्रेष्ठ, ९० केजीमा सञ्जय महर्जन र १०० केजीमुनि शिवबहादुर बराम रहेका छन् ।
महिलाको ४८ केजीमुनि सरिता चौधरी, ५२ केजीमुनि लीला अधिकारी, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान, ६३ केजीमुनि फुपु ल्हामु खत्री, ७० केजीमुनि गंगा चौधरी तथा ७८ केजीमुनि पुनम श्रेष्ठ छन् । सागका लागि छनोट नभएपनि पुरुषको १०० केजीमाथिमा राजन जोशी र महिलाको ७८ केजीमाथि आकृति जोशी पनि टिमसंगै प्रशिक्षणका लागि जाने छन् ।
प्रशिक्षकमा दलबहादुर गुरुङ र इन्द्र डंगोल तथा व्यवस्थापकमा देबु थापा र गंगा खड्का रहेका छन् । व्यस्थापक देबु र खेलाडी फुपुल्हामु भने पहिले प्रशिक्षणका लागि जनवारी १७ तारिखमा हंगेरीको बुढापेस्ट जाने छन् । सागअन्तर्गत जुडो भारतको सिलोङमा फेब्रुअरी १४ देखि १६ तारिखसम्म चल्ने छ ।

Comment