सडक सुरक्षाका वारेमा प्रशिक्षण

nasa
सडक सुरक्षाका क्षेत्रमा भइरहेका विविध गतिबिधि र सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा आज पोखराका महिलाहरुका बीचमा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त सडक सुरक्षा तथा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रममा ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा विश्वमा सडक दुर्घटनाको अवस्था र त्यसको न्यूनीकरणका लागि गरिने पर्ने आवश्यक कार्यको वारेमा विभिन्न प्रकारका जानकारी प्रदान गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका उप–प्रशासक दिवाकर बाँस्तोलाले सडक दुर्घटना न्यूनीकरण गर्न सके धेरै मानिसको ज्यान जोगिने र त्यो नै सबैका लागि उपकार हुने भएकाले यसका बारेमा सबैले आवश्यक जानकारी लिनु पर्ने कुरा बताएका थिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम अर्यालले ट्राफिक प्रहरीले समुदायसँग मिलेर काम गरिरहेको र त्यसैको एउटा भागको रुपमा सडक दुर्घटना न्यूनीकरणका लागि समेत मिलेर काम गर्नु आवश्यक भएको कुरा बताएका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराईले बिश्व र नेपालको सडक दुर्घटनाको अवस्था र यसको न्यूनीकरणका लागि गरिनु पर्ने आवश्यक कार्यका बारेमा जानकारी प्रदान गरेका थिए ।
उक्त अवसरमा पोखराकै पहिलो महिला ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममार्फत सडक दुर्घटना न्यूनीकरणका लागि गरिनु पर्ने आवश्यक कार्यका वारेमा जानकारी भएको र जानकारीलाई व्यावहारिकता प्रदान गर्न आफूहरु लागि पर्ने कार्यक्रममा सहभागी महिलाहरुले बताएका थिए ।
सामुदायिक जागरणका लागि नारी अभियानकी संयोजक सुष्मा पौडेलले आगामी दिनमा पनि अभियानले सडक सुरक्षाका क्षेत्रमा आवश्यक कार्य गर्ने बताइन् ।

Comment