दूरी हटाउन सहयोग पुगोस् ः मण्डल

national player1राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले भारत र नेपालबीच रहेको केहि दूरी १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा हट्ने विश्वास व्यक्त गरेका छन् ।‘संविधान जारी भएपछि हामीबीच केहि दूरी बढेको छ ।’ सागका लागि छनोट खेलाडीलाई प्रोत्साहन गर्न राखेपले आफ्नै हातामा आयोजना गरेको बधाइ तथा प्रोत्साहन कार्यक्रममा मन्त्री मण्डलले भने– ‘सागको अवधिमा खेलको माध्यमबाट दूरी हटाउन सहयोग पुगोस् । सफलताका लागि तपाईंहरुलाई धेरै धेरै शभकामना छ ।’
मन्त्री मण्डलले सागमा पदक जित्ने खेलाडीका लागि मन्त्रालयले पुरस्कारको व्यवस्था गरेका स्मारण गराउदै भने– ‘मन्त्रालयले पदक विजेता खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरेको छ । तपाईंहरु स्वर्ण जितेर आउनुस् । नेपाल सरकार समक्ष थप पुरस्कारका लागि छुट्टै प्रस्ताव लाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’उनले नेपाली खेलाडीले सागमा सफलता प्राप्त गरी राष्ट्रको झण्डा सगरमाथा भन्दा पनि उच्च बनाउने विश्वास व्यक्त गरे ।
राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले परिषद्का पदाधिकारी जुन सुकै खेलमा आबद्ध भएपनि सबै खेललाई समान नजरले हेर्ने बताउदै अब नेपालमा हुने साग उपत्यका बाहिर पनि गर्ने गरी प्रस्ताव लाने तयारी भइरहेको जानकारी गराए । उनले देशको अहिलेको असहज अवस्थाले गर्दा खेलाडीलाई समयमै तालिममा राख्न नसकेको बताए ।राखेप सदस्य–सचिव केशवकुमार विष्टले संविधान जारी भएपछिको अघोषित नाकाबन्दीका कारण खेलकुद क्षेत्र पनि प्रभावित भएको बताउदै नाकाबन्दी र भूकम्पको पीडाकाबीच पदक जितेर सारा नेपालीलाई खुशी बनाउन जरुरी भएको बताए । उनले खेल जीवनपछि पनि खेलाडीको भविष्य सुनिश्चित गर्न परिषद् लागि परेको बताउदै पदक जित्न साधन श्रोत मात्र नभइ इच्छाशक्ति पनि आवश्यक रहेकोमा जोड दिए । उनले खेलाडीको मनोबल गिर्ने गरी कसाइलाई कार्य नगर्न आग्रह समेत गरे ।
कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय झण्डा अंकित व्याज, टीका र सगुन प्रदान गरिएको थियो । त्यस्तै कुमार पौडेललगायतले गीत प्रस्तुत गरी खेलाडीलाई मनोरञ्जन प्रदान गरेका थिए ।सागको १२ औं संस्करण भारतको गुवाहटी र सिलोङमा माघ–फागुनमा हुँदैछ । नेपालले विभिन्न २३ खेलमा प्रतिस्पर्धा गर्ने छ ।

Comment