एक लाख ७२ हजार पुरस्कारको रोड रेस शनिबार

paragoun
प्यारागन पब्लिक स्कुलको आयोजनामा तेश्रो खुला रोड रेस शनिबार हुने भएको छ । विभिन्न ३ समूहमा प्रतिस्पर्धा हुने प्यारागनका भाइस प्रिन्सिपल एवं रेस संयोजक मनोज विकले जनाएका छन् ।पुरुष÷महिला खुला, विद्यालयतर्फ छात्र÷छात्रा तथा प्यारागनमै अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षक सम्मिलित पुरुष÷महिलाको दौड हुनेछ । अभिभावक÷शिक्षकको स्पर्धा यसपटकदेखि थपिएको हो । तीनवटै समूहको दौडको दूरी समान ५–५ किलोमिटरको रहेको छ ।
सबैमा मिलाएर कुल पुरस्कार राशी १ लाख ७२ हजार रुपैयाँ रहेको प्यारागनका खेलकुद शिक्षक एवं १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठले जनाएका छन् ।खुलाको पुरुष÷महिलामा पहिलो हुनेले २५–२५ हजार, दोश्रोले १५–१५ हजार र तेश्रोले १०–१० हजार नगद पुरस्कार हात पार्ने छन् । बाँकी दुई समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०–१० हजार, ५–५ हजार र ३–३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
रेसमा करिब ३ हजार ५ सयको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । ‘गत वर्षपनि २ हजार ५ सयको सहभागिता थियो ।’– खेलकुद शिक्षक श्रेष्ठ भने– ‘यो वर्ष एक विधा पनि थप गरिएकोले ३ हजार ५ सयको हारीहारीमा प्रतिस्पर्धी सहभागी हुने अनुमान गरेका छौं ।’
खुलाको पुरुषमा नेपाल आर्मीका हरिकुमार रिमाल र महिलामा आर्मीकै विश्वरुपा बुढा साविक विजेता हुन् ।
रेस समापनका अवसरमा अल्ट्रा धाविका मिरा राईलाई नगद ३५ हजारसहित सम्मान गरिने छ । त्यसमा भ्याली एक्सप्रेसले १० हजार रुपैयाँ प्रायोजन गर्ने बताइएको छ । रेसको दोश्रो संस्करणमा पनि प्यारागनले दक्षिण कोरियाको इन्चोमा भएको १७ औं एसियाली खेलकुदमा नेपालबाट एक्लो पदक विजेता करातेकी विमला तामाङलाई नगद २५ हजारसहित सम्मान गरेको थियो ।

Comment