ज्याभ्लिनमा चन्द्रकलाको नयाँ राष्ट्रिय कीर्तिमान

athletics1hari rimal 3sawarasati1
नेपाल प्रहरीकी चन्द्रकला लामगादेले महिलाको ज्याभ्लिन थ्रोमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि एथलेटिक्स खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै नयाँ कीर्तिमान रचेकी हुन् । यसअघि सीमाकुमारी थारुको नाममा ४३.७० को कीर्तिमान थियो । एपीएफ क्लबकी सीमाले गत भदौमा भएको थाइल्यान्ड ओपनका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा उक्त कीर्तिमान बनाएकी थिइन् । सीमाले (४०.२४ मिटर) दोश्रो स्थानमा चित्त बुझाइन् भने आर्मीकी सीता शाही (३५.२७ मिटर) तेश्रो भइन् ।
सोही स्पर्धाको पुरुषमा आर्मीका धीरेन्द्रजंग शाह (५८.८५ मिटर) पहिलो, आर्मीकै रामबहादुर कुमाल (५४.२२ मिटर) दोश्रो तथा नेपाल प्रहरीका नरेन्द्रजंग शाह (५१.७६ मिटर) तेश्रो भए ।
हाइजम्पको पुरुषमा आर्मीका प्रेम सिंह १.८५ मिटर जम्प गर्दै पहिलो भए । आर्मीकै सूर्य खत्री दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो भए । उक्त स्पर्धाको महिलामा १.५१ मिटर जम्प गरेकी एपीएफकी शिला चौधरी पहिलो भइन् । प्रहरीकी वर्षा भट्टराई दोश्रो र आर्मीकी प्रभा चौधरी तेश्रो बने ।
पुरुष ८ सय मिटर दौडमा आर्मीका सोम कुमाल पहिलो भए । उनले निर्धारित दूरी १ मिनेट ५६ सेकेन्डमा पूरा गरे । आर्मीका मुक्तिबहादुर खड्का दोश्रो र जीवन चौधरी तेश्रो भए । त्यस स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २ मिनेट १५.५ सेकेन्ड समय खर्चदै शीर्ष स्थानमा रहिन् । एपीएफकी फुलमती राना दोश्रो र आर्मीकी लक्ष्मी पाण्डे तेश्रो स्थानमा रहे ।
पुरुष १ सय मिटर दौडमा एपीएफका यामसाजन सुनार १०.६ सेकेन्ड समयसाथ पहिलो भए । एपीएफकै आशिष चौधरी दोश्रो र आर्मीका मीनबहादुर चौधरी तेश्रो भए । सो स्पर्धाको महिलामा एपीएफकी सरस्वती चौधरी पहिलो भइन् । सरस्वतीले निर्धारित दूरी तय गर्न १२.५ सेकेन्ड समय खर्चिन् । आर्मीकी कृष्णा चौधरी दोश्रो र प्रहरीकी मानमति विष्ट तेश्रो भए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ५ हजार मिटर दौडमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । उनले दौड सकाउन १५ मिनेट १५.९३ सेकेन्ड समय लगाए । एपीएफका गोपीचन्द्र पार्की दोश्रो र आर्मीका लालबहादुर थापा तेश्रो भए । त्यस स्पर्धाको महिलामा आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । विश्वरुपाले १८ मिनेट ०४.९ सेकेन्डमा दूरी तय गरिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ दोश्रो र आर्मीकी सानुमाया कार्की तेश्रो बने । छनोट शनिबारसम्म चल्नेछ ।

Comment