राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो शनीबार

friendship taekwondo1
मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन         (युयुएनटीएफ), नेपालको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप शनिबार  हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक अष्टबहादुर महर्जनले जनाएका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने एकदिने प्रतियोगिताको पुरुषमा ५४, ५८, ६३, ६८, ७४ र ८० केजीमुनि तथा महिलामा ४६, ४९, ५३ र ५७ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । यसै प्रतियोगिताबाट ३ पुरुष र २ महिला गरी जम्मा ५ खेलाडी अमेरिकाको पोर्टल्यान्डमा सन् २०१६ को अक्टोबरमा हुने अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि छनोट हुने छन् ।
पुरुषमा ५४ र ५८ केजी, ६३ र ६८ केजी तथा ७४ र ८० केजीमा पहिलो हुने दुई खेलाडीबीच ओलम्पिक स्ट्यान्डर्ड अनुसार पुनः प्रतिस्पर्धा हुनेछ । उक्त दुई–दुई तौलसमूहमा पहिलो हुने ३ पुरुष खेलाडीले पोर्टल्यान्डमा हुने प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन् । महिलामा त्यही पद्धति अनुसार २ खेलाडी छानिने छन् ।
दुई–दुई तौलसमूहको भिडन्तमा पराजित हुने पुरुष÷महिला गरी ५ खेलाडीलाई १०–१० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान १५–१५ हजार नगद प्रदान गरिने छ भने उत्कृष्ट प्रशिक्षकले १० हजार नगद पुरस्कार हात पार्नेछन् । त्यस्तै छनोट भएका खेलाडी कुनै कारणवश पोर्टल्यान्ड जान नपाएको खण्डमा उनीहरुलाई प्रोत्साहन स्वरुप १ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता अवलोकनका लागि आईओएफटीसीकी महासचिव केरन व्ल्याकलेज र प्रतियोगिता निर्देशक दिवाकर महर्जन अमेरिकाबाट तथा बोर्ड डाइरेक्टर राष्ट्र राई लन्डनबाट नेपाल आइसकेका छन् ।

Comment