इलाम प्रिमियर लिगको उपाधि काँकडभिट्टालाई

इलाममा सञ्चालित मेचीस्तरीय इलाम प्रिमियर लिग (आइपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मिलन क्रिकेट क्लब काकँडभिट्टा झापाले चुमेको छ । शनिबार भएको फाइनलमा सृजना युवा क्लब केर्खा झापालाई ६१ रनले पराजित गर्दै काकँडभिट्टाले उपाधि हात पारेको हो ।
जितसँगै काकँडभिट्टाले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता केर्खा भने नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको थियो । टस जितेर फिल्डिङ रोजेको केर्खाले काकँडभिट्टालाई ब्याटिङको निम्तो दिएको थियो
। काकँडभिट्टाले २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । उसका लागि सुरज केसीले २० बल खेल्दै ३३ रन बनाए भने बादल भटटराईले २५ बलमा ३२ रन, बिबेक भुजेलले १७ बलमा २३ रन बनाउँदा अन्य ब्याट्सम्यानले सम्मानजनक स्कोर बटुलेनन् । केर्खाका बलरहरु लोकबहादुर भुजेलले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिँदा लेलिन गुरुङले ४ ओभरमै २० रन खर्चेर २ विकेट लिए । अघिल्लो प्रतियोगितामा भन्दा उत्कृष्ठ फिल्डिङ गरेपनि केर्खाले हार टार्न भने सकेनन् ।
उता एक सय ४० रनको सामान्य विजय लक्ष्य पछ्याएर मैदानमा आएको केर्खाका ब्याट्सम्यानलाई काकँडभिट्टाका तीब्र गतिका बलरहरुले शुरुवाती ओभरबाटै दबाबमा राखेको थियो । काकँडभिट्टाका बलरसामु पूरा ओभर समेत टिक्न नसक्दा केर्खा १८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर ७८ रनमा सीमित रह्यो । उसका लागि श्याम थापाले १४ बलमा १२ र बिक्रम श्रेष्ठले १६ बलमा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । ओपनर ब्याट्सम्यानलाई २ ओभरमै गुमाएको केर्खाका मध्यक्रमका ब्याट्सम्यानले सम्हाल्न खोजेपनि उनीहरु पनि क्रिजमा टिक्न सकेनन् ।केर्खा सस्तैमा समेट्ने क्रममा काकँडभिट्टाका बिक्रम कार्किले ४ ओभरमा १४ रन खर्चेर पाँच विकेट लिए । बिजय श्रेष्ठले ४ ओभरमा २९ रन दिएर १
विकेट लिँदा सरन पौडेलले पनि २ ओभरमा १४ रन खर्चेर २ विकेट हातमा पारेका थिए ।  प्रतियोगितामा उत्कृष्ठ बलर काकँडभिट्टाका विक्रम कार्की, ब्याट्सम्यान आयोजक पीएफआईका दिपेन्द्र मगर, खेलाडी त्रिवेणी युथक्लब मंगलबारेका सिद्धान्त लोहनी, फिल्डर इलाम डेविल्सका राजु बस्नेत, विकेट किप्पर आयोजकका दिपेन्द्र मगर, इमरर्जिङ सन्दिप तामाङ, क्याच समिप चिपालू र धेरै रन र ६ रन हान्ने आयोजककै दिपेन्द्र मगर घोषित भए । त्यस्तै अनुशासित टिम हाइवे क्रिकेट टिम इलाम घोषित भयो । उनीहरुलाई व्यवस्थापिका संसदका सदस्य लिलादेवी श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी थिईन् ।
द पियर फाउण्डेशन इलामको आयोजनामा गत १० गतेदेखि सुरु भएको प्रतियोगितामा इलाम, झापा, पाँचथर र ताप्लेजुङका १२ क्रिकेट टिमको सहभागिता रहेको थियो । समापन समारोह आयोजकका अध्यक्ष टिकाराम पुरीको अध्यक्षतामा भएको थियो ।

Comment