हिटिङ सिस्टमको पुल बनाउन सम्झौता

pppe
हिटिङ सिस्टमसहितको पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी संघबीच मंगलबार समझदारी पत्र हस्ताक्षर भएको छ ।    युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको उपस्थितिमा राखेप सदस्य–सचिव केशवकुमार विष्ट र पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले समझदारी पत्रमा हस्ताक्षर गरे ।
सातदोबाटोस्थित राखेपअन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हालको पौडी पोखरीको दक्षिणतर्फ डाइभिङ पुलका लागि राखिएको स्थानमा २५ बाइ २५ मिटरको पुल बन्ने छ । कुल लागतको ८० प्रतिशत राखेप र बाँकी २० प्रतिशत पौडी संघले व्यहोर्नु पर्नेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दैखेलकुद मन्त्री पुरुषोत्तम पौडेलले मन्त्री भएपनि नभएपनि आफूले प्रतिबद्धता व्यक्त गरेका खेलकुदका योजनालाई पूरा गराउन हरदम प्रयासरत रहने बताए ।    सदस्य–सचिव विष्टले केहि समय भित्रै सिंगो खेलप्रेमी उत्साहित हुने गरी योजना अगाडि ल्याउने तयारी भइरहेको बताए । उनले सातौं राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त हुनु परेकोले तत्काल योजनाहरु सार्वजनिक गर्न नसकिएको अवगत गराए ।
नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीमा खेलप्रति रुची र समर्पण हुँदाहुँदै पनि पूर्वाधारको कमीले उनीहरुको प्रतिभा वास्तविक रुपमा प्रस्फुटन हुन नसकेको बताए ।    पौडी संघका अध्यक्ष वज्राचार्यलेसम्भवतः अर्को सातासम्म पुलको सिलान्यास गरिने जानकारी गराउदै हिटिङ सिस्टमसहितको पुल बनेपछि बाह्रै महिना खेलाडीलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए ।

Comment