पौडीकर्मीद्वारा डुबुल्की सञ्चालन

Manoj Shiama
14 July, 2026 1:18 pm

पौडीलाई नै कर्मथलो बनाएका तथा पौडी खेलमा आफ्नो कौशल प्रदर्शन गरिसकेका पौडीकर्मीहरूको पहलमा डुबुल्की नामक पौडी पोखरी सञ्चालनमा आएको छ ।

भक्तपुरको थीमी नगरपालिकाको लोकन्थलीमा एक अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी २७ आसारबाट सञ्चालनमा आएको हो । ४२ आना जग्गामा २५ मिटर लम्बाई, १५ मिटर चौडाई र ३ फिट ५ इन्च देखि ५ फिट ५ इन्च गहिराइको ६ लेनको अन्तर्राष्ट्रिय स्तरको एक र अर्को १५ मिटर लम्बाई र ६ मिटर चौडाईको साना बालबालिकाहरूका लागि एक गरी दुई पोखरी सञ्चालन आएको हो । 

करिब ५ करोडको लगानीमा सञ्चालन हुने उक्त डुबुल्की पौडी क्षेत्रमा एक स्टिम, साना बाथ सहितको जिम पनि सञ्चालन हुने सञ्चालक मध्यको एक पूर्व पौडी खेलाडी एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उमेश प्रधानले जानकारी गराए । प्रधानका अनुसार जिम, स्टिम र साना तिहार लगत्तै सञ्चालन गरिने छ ।

पौडी पोखरी सञ्चालन गर्न पौडीका पूर्व प्रमुख प्रशिक्षक ईश्वर कार्की अध्यक्ष रहेको डुबुल्की नामक संस्था स्थापना भएको छ । जसमा हालका प्रमुख प्रशिक्षक शंकर कार्की, पूर्व खेलाडी उमेश प्रधान, गोपाल पाण्डे, विनोद श्रेष्ठ, शोभा सिंह लगायत पौडी सँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

आफूहरू पौडी खेलाडी हुँदै पौडीको विकास र विस्तारमा दत्तचित्त भएर अधिकांश समय पौडीमा नै खर्च गर्दै आइरहेको र साना बालबालिकाहरूलाई पौडी खेलमा आकर्षित गर्दै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष सहित पौडीमा नै लगानी गर्ने मनसायका साथ पौडी पोखरी सञ्चालन गर्न लागिएको सञ्चालक प्रधानले जानकारी गराए । पौडी प्रेमीहरूका लागि उचित गन्तव्य स्थल रहेको डुबुल्कीमा बालबालिकाका लागि आधारभूत पौडी प्रशिक्षण प्रदान गर्ने र पौडी खेलाडी उत्पादन गर्ने लक्ष रहेको प्रधानले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूका लागि प्रशिक्षण गर्न डुबुल्की सदा खुला रहने छ ।  

पौडी खेलमा रमाउनेहरूका लागि वयस्कका लागि रु. २ सय ५०, विद्यार्थीका लागि २ सय र ६ वर्ष मुनिका बालबालिकाका लागि १ सय ५० को टिकट दर कायम गरिएको डुबुल्कीले जनाएको छ ।