बाँके भलिबल संघ पुनर्गठन

ts photoबाँके जिल्ला भलिबल संघले शनिवार उपाध्यक्षसहित सदस्यहरु मनोनयन गरी कार्यसमिति पुनर्गठन गरेको छ । संघका अध्यक्ष टीएस ठकुरीको अध्यक्षतामा शनिवार बसेको बैठकले चिरनजीवी चन्दलाई उपाध्यक्षमा मनोनयन गरेको छ । नेपाल भलिबल संघको विधान बमोजिम दुई उपाध्यक्ष रहने प्रावधान अनुसार उपाध्यक्षमा चिरनजीवी चन्दलाई मनोनयन गरिएको हो । कोषाध्यक्षको जिम्मेवारी रीता कोइरालालाई दिइएको छ । संघका सचिव भीम ओली मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएको हुँदा सहसचिव यमनारायण महतोलाई संघको कार्यवाहक सचिवको जिम्मेवारी दिइएको छ ।
सदस्यहरुमा यम बहादुर महतारा(सितापुर), पाण्डव थापा(धम्बोजी, नेपालगन्ज), पुर्णबहादुर खत्री(नयाँ गौरीनगर), ऋषिराज शर्मा(महादेवपुरी), रमा भण्डारी(बिनौना), चित्रा केसी(नेपालगन्ज), ध्रुव शाह(टिटिहिरिया), सन्तोष पौडेल(कोहलपुर)लाई मनोनित गरिएको छ ।
मनोनित पदाधिकारी एवं सदस्यहरुसहित आजै बसेको बैठकले आगामी नौ गते सम्मान समारोह आयोजना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कप इन्डो नेपाल आमन्त्रण महिला भलिबललगायत प्रतियोगिता सफल पार्न सहयोग गर्ने व्यक्ति एवं संघसंस्थालाई सम्मान गर्ने निर्णय गरेको हो । त्यस्तै संघ व्यवस्थित एवं संस्थागत गर्नका लागि साधारण सदस्य, आजिवन सदस्य, संस्थागत सदस्य वितरणका लागि उपाध्यक्ष गोविन्द पौडललाई संयोजकको जिम्मेवारी दिइएको छ । अर्का उपाध्यक्ष चिरनजीवी चन्दलाई बार्षिक कार्ययोजना तर्जुमा गर्नको लागि संयोजकको जिम्मेवारी दिइएको छ ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान २०७२ यही असोज ३ गते जारी गर्दै गर्दा संविधानको स्वागत गर्दै हर्षोल्लाससहित दिपावली गर्ने निर्णय गरियो । साथै सम्पुर्ण खेलसम्बद्ध संघ संस्था, खेलाडी, प्रशिक्षक, पदाधिकारी एवं शुभच्छुकहरुलाई दिपावली गर्नका लागि आह्वान गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं क्षेत्रीय संयोजक झलक गैरे, मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद विकास समितिका सदस्य आतंक बस्नेतले समेत शुभकामना व्यक्त गरेका थिए ।

Comment