यु–१९ फुटबल टोली पुरस्कृत

foootball award1
युवा तथा खेलकुद मन्त्रालयले साफ यु–१९ फुटबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । २३ खेलाडी, ३ प्रशिक्षक, १ फिजियो र १ टिम व्यवस्थापकसहित २८ सदस्यीय टोली सम्मानित भए । सबैले जनही १ लाख र सम्मान पत्र प्राप्त गरे ।
सम्मानित हुने खेलाडीहरुमा कप्तान विमल घर्ती मगर, सोजित गुरुङ, रोमन रसाइली, देव लिम्बू, अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा, गौरव बुढाथोकी, हेमन्त थापा मगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनार, विश्वास श्रेष्ठ, सुशन लामा, सुनील बल, अन्जन विष्ट, सुजित गुरुङ, शिव सुवेदी तथा जानोममान लिगल रहेका छन् ।
सम्मानित हुने अन्यमा प्रमुख प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक सुनील श्रेष्ठ, गोलकिपङ प्रशिक्षक मृगेन्द्र मिश्र, फिजियो राजु दाहाल तथा टिम व्यवस्थापक दिवाकर घले छन् ।
सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सभासद् एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले टोलीलाई नगद, टीका, खादा र सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाली टोलीको सफलताले सारा देशवासीलाई सुखद अनुभूति दिलाएको बताउदै मन्त्रालयको पहुचले भ्याएसम्म खेलाडीलाई सम्मान गरिएको बताए । उनले ठूला देशलाई हराउने ताकत खेलकुदमा मात्र भएको बताउदै फुटबल मात्र नभइ पदक जित्ने सबै खेलका खेलाडीलाई सम्मान गरिने बताए ।    मन्त्रालयका सचिव शर्माले यु–१९ टोलीको सफलताले फुटबलको क्षेत्रमा नयाँ उर्जा थपिएको बताउदै खेलाडीलाई खेलमा ध्यान दिन र बाँकी काम मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, एन्फा र राज्यलाई छाडी दिन आग्रह गरे ।
एन्फा अध्यक्ष थापाले रातारात टोलीले सफलता हासिल नगरेको बताउदै टोलीलाई यो अवस्थासम्म ल्याउन एन्फाले ठूलो मेहनत गरेको बताउदै टोलीको सफलताले अन्य टिमलाई पनि हौसला मिल्ने धारणा राखे ।
भदौ १२ गते सातदोबाटोमा भएको च्याम्पियनसिपको पहिलो संस्करणको फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा हराउदै २२ वर्षपछि फुटबलमा उपाधि जितेको थियो ।

Comment