विश्व जुडोमा दुई खेलाडी

judoe

काजाकिस्तानको अस्तानामा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट एक–एक पुरुष र महिला गरी दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।
भदौ ८ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपको पुरुष १०० केजीमाथि राजन जोशी र महिलाको ६३ केजीमुनि फुल्हामु खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
प्रशिक्षकमा खड्गबहादुर दाहाल र व्यवस्थापकमा नेपाल जुडो संघका उपमहासचिव बाबुराजा महर्जन रहेका छन् । त्यस्तै अगष्ट २० तारिखमा हुने अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) को कोंग्रेस तथा अगष्ट २१ तारिखमा हुने जुडो युनियन अफ एसिया (जेयुए) को कार्यकारी कमिटीको बैठकमा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि अस्ताना जाँदैछन् ।
अध्यक्ष वज्राचार्य बुधबार, प्रशिक्षक र व्यवस्थापक अगष्ट २१ तथा खेलाडीद्वय अगष्ट २४ तारिख अस्ताना जाने कार्यक्रम छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।

Comment