एथलेटिक्स टोलीको बिदाइ

athe
चीनको बेइजिङमा हुने १५ औं आईएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने १–१ खेलाडी र प्रशिक्षक सहित दुई सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा उनीहरुलाई बिदाइ गरे ।
२२ देखि ३० अगष्टसम्महुने च्याम्पियनसिपमा महिलाको ४ सय मिटर दौडमा दिलमाया कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । यो स्पर्धामा दीलमायाकै नाममा ५८.५ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । प्रशिक्षकमा सुशीलनरसिंह राणा रहेका छन् । स्प्रीन्टमा लामो समयको जमैकाको राज सक्दै अमेरिकी शक्ति पुर्नस्थापीत हुन अपेक्षा गरिएको यो च्याम्पियनसीपमा दिलमायाको लक्ष्य राष्ट्रिय कीर्तिमान रहेको छ ।
गत चैतमा भएको ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आधारमा खेलाडी छनोट गरिएको प्रशिक्षक राणाले जानकारी गराए । त्यो प्रतियोगितामा दिलमायाले ४ स्वर्ण र १ रजत गरी ५ पदक जितेकी थिइन् । उनीहरु अगष्ट २० तारिख चीन उड्ने कार्यक्रम छ ।
त्यसअघि १८ देखि २० अगष्टसम्म हुने अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) को ५० औं विश्व कंग्रेसमा भाग लिन दुई एथलेटिक्स पदाधिकारी आइतबार चीन जाँदैछन् ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह र महासचिव सुनील राजवंशीले कोंग्रेसमा भाग लिने छन् । उक्त कंग्रेसले आईएएएफको नयाँकार्य समिति समेत चयन गर्नेछ । अध्यक्ष शाहले मतदान गर्ने छन् ।

 

Comment