जुडो टोली स्विटजरल्यान्ड जाँदै

judo swizerlan
आईजेएफ युथ जुडो ट्रेनिङ क्याम्पमा सहभागी हुन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली आइतबार स्विटजरल्यान्डको फिस प्रस्थान गर्दैछ । १९ देखि २५    जुलाइसम्म हुने क्याम्पमा १८ वष मुनिका १–१ पुरुष र महिला खेलाडी नेपालबाट सहभागी हुने छन् । पुरुषमा किरण गडेल तथा महिलामा मनिता श्रेष्ठ प्रधान रहेका छन् । प्रशिक्षकमा नेपाल जुडो संघका सचिव एवं अन्तर्राष्ट्रिय जुडो रेफ्री धर्मकुमार श्रेष्ठ छन् ।
क्याम्पमा विभिन्न राष्ट्रका १ हजार खेलाडीको सहभागिता रहने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । नेपाली खेलाडीले पहिलो पटक जुडोको सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय क्याम्पमा सहभागिता जनाउन लागेको वज्राचार्यले जानकारी गराए । अन्तर्राष्ट्रिय जुडो महासंघ र ओलम्पिक सोलिडारिटीको मुख्य प्रायोजनमा क्याम्प स्विटजरल्यान्ड जुडो महासंघले आयोजना गर्न लागेको हो ।
टोलीलाई शुक्रबार बिदाइ गरियो ।     सोही अवसरमा जुडो संघले नवनियुक्त सदस्य–सचिव विष्टलाई सफल कार्यकालको शुभकामना दिदै स्वागत गरेको थियो ।
सदस्य–सचिव विष्टले नेपाली खेलकुदको विकासका निम्ति जुन आशा र अपेक्षा साथ आफूलाई जिम्मेवारी सुम्पिएको छ त्यसमा खरो उत्रने बताए । सदस्य–सचिव विष्टले राष्ट्रिय खेलकुद ११मंसिर देखि पूर्वाञ्चलमा गर्ने निर्णय भइसकेको बताउदै जिल्ला छनोट ११ देखि १३ भदौेसम्म र क्षेत्रीय छनोट ११ देखि असोजसम्म गर्ने गरी तयारी अगाडि बढाउने सोच रहेको अवगत गराए ।

Comment