नेपाल हङ्गकङ्गसंग खेल्दै

cricketविश्वकप छनोट चरणको तेस्रो खेलमा उपाधिको बलियो दाबेदार मानिएको घरेलु टोली आयरल्यान्डसँगको लज्जास्पद हारलाई बिर्सन नेपाली टोली चिर प्रतिद्वन्द्वी हङकङसँग आज खेल्दै छ ।

खेल नेपाली समयअनुसार सिभिल सर्भिस क्रिकेट क्लब मैदान स्टोरमन्ट वेलफस्टमा साँझ सात बजेपछि हुनेछ । समूह चरणको पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेर विजयी सुरुआत गरेको नेपालले दोस्रो खेलमा वर्षा बाधक बनेपछि नामिबियासँग अंक बाँडेको थियो । आयरल्यान्डसँगको खेलमा लज्जास्पद हार बेहोरेपछि नेपाल दोस्रो स्थानबाट चौथा स्थानमा झरेको छ । आयरल्यान्डसँगको फराकिलो हारले रनरेटमा पनि अप्ठ्यारोमा परेको नेपालमािथ थप दबाब सिर्जना भएको छ । नेपालको हङकङसँगको खेल सबैभन्दा महत्वपूर्ण छ ।
टि–२० मा नेपाल र हङकङबीच इतिहास हेर्दा नेपाल नै हाबी छ । ६ पटक हङकङसँग आमनेसामने हुँदा नेपालले चार खेल आफ्नो पक्षमा पारेको छ । प्रतियोगिताको पछिल्लो संस्करणमा नेपालले प्लेअफमा हङकङलाई नै ५ विकेटले पराजित गरी विश्वकपमा स्थान बनाएको थियो । त्यसपछि नेपालले विश्व टी–२० को पहिलो खेलमा पनि हङकङलाई नै पराजित गरेको थियो । २०११ को एसिसी टी–२० कपमा पनि दुई विकेटले पराजित गरेको थियो । यता हङकङले पनि नेपालले जस्तै गत वर्ष बंगलादेशमा भएको विश्व टी–२० मा आइसिसीको पूर्ण राष्ट्र बंगलादेशलाई नै पराजित गर्दै सनसनी मच्चाएको थियो । विश्वकपपछि श्रीलंकामा भएको एक मात्र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई २ विकेटले पराजित गरेको थियो । यसै प्रतियोगिताको अभ्यास खेलमा हङकङले नेदरल्यान्डस्लाई ९ रनले स्तब्ध पारेको थियो । छनोट चरणको पहिलो खेलमा हङकङले प्रतियोगिताकै कमजोर मानिएको जर्सीसँग ९ विकेटको लज्जास्पद हार बेहोरेको थियो । पपुवा न्यु गिनीसँगको खेल वर्षाका कारण रद्द भएको थियो । हङकङका अन्सुमान राथ, इफरान अहमद र निजाकात खान प्रभावशाली खेलाडी छन् ।
कमजोरे ब्याटिङको कारण समस्यामा रहेको नेपालका ओपनर ब्याट्सम्यानहरूले खुलेर खेल्न सकिरहेका छैनन् भने मध्यक्रमका ब्याट्समयानले पनि राम्रो प्रदर्शन गर्न सकेका छैनन् । प्रशिक्षक पुवुदु दासानायकेले ओपनिङमा केही परिवर्तन गरे पनि नेपालको ओपनिङमा समस्या जस्ताको तस्तै देखिएको छ । सागर पुन र ज्ञानेन्द्र मल्लले केही साझेदारी गर्ने प्रयास गरे पनि उनीहरूको साझेदारी लामो समय टिक्न सकेका छैनन् । शरद भेषवाकारको खराब फर्म नेपालको थप समस्या बनेको छ । यस्तै, अमेरिकाविरुद्धको खेलमा उत्कृष्ट तथा वर्षाले रोकिएको नामिबियाविरुद्धको लिगको दोस्रो खेलमा भने नेपालले औसत बलिङ गरेको नेपालको बलिङ आयरल्यान्डसँगको खेलमा भने चुकेको थियो । अमेरिकाविरुद्ध तीन विकेट लिएका शक्ति गौचन, आयरल्यान्डविरुद्धको खेलमा दुई विकेट लिएका सोमपाल कामी, वसन्त रेग्मी र करन केसी नेपालको बलिङको हतियार हुनेछन् ।
नेपालले अघिल्लो दुई खेलमा पहिले फिल्डिङ गरेको थियो । तर, आयरल्यान्डविरुद्धको तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेको थियो ।

 

Comment