नेपालको चुनौती समाप्त

universiad3 दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम– २०१५ मा नेपालको चुनौती आइतबार समाप्त भएको छ । नेपाल पदकविहीन रह्यो । युनिभर्सियादको ११ औं दिन नेपाली टेबलटेनिस र तेक्वान्दो खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । आइतबार टेबलटेनिसका दीप साउन र तेक्वान्दोकी निमा गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै पराजित भए । छोसुन युनिभर्सिटी जिम्नेसियममा तेक्वान्दोतर्फ महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसीलियासंग पराजित भइन् । निमा ५–१८ ले पछि परिन् ।
यसअघि तेक्वान्दोमै नेपालकी निशा रावल र सीता तामाङ पराजित भइसकेका छन् । सीता दोश्रो चरणमा पुग्ने एक्लो खेलाडी भइन् । सीताले पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएकी थिइन् ।
त्यस्तै जाङसियोङ होङग्लीडोङ जिम्नेसियममा भएको टेबलटेनिसको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन दीप नकआउट चरणको पहिलो खेलमा भेनेन्ज्युएलाका कोरिए फिग्युरोसंग ८–११, ५–११, ११–६, ७–११ र १२–१४ ले पराजित भए ।
टेबलटेनिस र तेक्वान्दोसहित विभिन्न ७ खेलमा नेपालबाट १९ खेलाडीले सहभागिता जनाएका थिए । यसअघि लनटेनिस, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनबाट नेपाली खेलाडी बाहिरीसकेका छन् ।
टेबलटेनिसमा सबैभन्दा बढी ७ खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोमा ३, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनमा समान २–२ तथा लनटेनिसमा १ खेलाडी सहभागी थिए । खेलाडी, प्रशिक्षक र अफिसियलसहित नेपाली टोली ३८ सदस्यीय रहेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जनाएका छन् ।
दुई वर्षको अन्तरालमा हुने युनिभर्सियाडमा नेपालले योपटक सहभागिता जनाएको खेल र खेलाडी संख्या अहिलेसम्मकै बढी हो । महासचिव बोहराका अनुसार चीनमा भएको २६ औं संस्करणमा तेक्वान्दोमा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रुसको कजानमा भएको २७ औं संस्करणको बुद्धिचाल र साम्बोमा समान २–२ खेलाडीले भाग लिएका थिए ।
युनिभर्सियाडको औपचारिक समापन जुलाई १४ तारिखमा हुँदैछ । ओलम्पिक पछि दोश्रो ठूलो बृहत मानिने यो खेल मेलामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् । विभिन्न २१ खेलमा २ सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । नेपाली टोली नेतृत्व विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले गरिरहेका छन् ।

Comment