नेपाल र अमेरिका भिड्दै

cricketनेपाली क्रिकेट टोली यसपल्ट पनि डेढ वर्षअघि पाएको सफलताको इतिहास दोहोर्‍याउने अभियानमा छ । युएईको आबुधावी क्रिकेट मैदानमा हङकङविरुद्धको प्राप्त जितले नेपाली टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आयोजना गर्ने सिनियर स्तरको बंगलादेश विश्वकपको लागि नेपाल पहिलो पटक छनोट भएको थियो । त्यही जितले नेपाली क्रिकेटको चर्चा एकाएक चुलिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पनि नेपाली क्रिकेटबारे चासो राखेका थिए ।

नेपाली क्रिकेट फेरि विश्वकपमा सहभागिता जनाउने प्रतिबद्वताका साथ छनोट चरणका खेल खेल्न स्कटल्यान्ड पुगिसकेको छ । बंगलादेशमा गत वर्ष भएको टि–ट्वेन्टी विश्वकपको पहिलो चरणमा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । घरेलु टोली बंगलादेशसँग पराजित भएपछि समान अंक भए पनि रनरेटमा मात्र पछाडि पर्दै नेपाल अर्को चरण पुग्नबाट चुकेको थियो । नेपालले यसपटक विगतभन्दा सहज तरिकाले विश्वकप छनोट खेल्ने अवसर पाएको हो । भर्खरै आइसिसीले १५ औँ टि–२० अन्तर्राष्ट्रियको मान्यता दिएपछि नेपाल एसिसीको प्रतियोगिताबाट छनोट हुनु नपरी सोझै छनोट चरण खेल्ने मौका पाएको हो । नेपालको यो छनोट चरणको तेस्रो सहभागिता हो । पहिलो सहभागितामा सातौँ र दोस्रो सहभागितामा तेस्रो भएको थियो ।
यस्तो अवस्थामा बिहीबारबाट स्कटल्यान्ड र आयरल्यान्ड सुरु भएको आइसिसी विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा शुक्रबार अमेरिकाविरुद्ध खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । चिरप्रतिद्वन्द्वी अमेरिकासँग १० पटक एकदिवसीय प्रतियोगितामा आमनेसामने भए पनि टि–२० प्रतियोगितामा नेपालले अमेरिकाविरुद्ध पहिलोपल्ट खेल्न लागेको हो । यद्यपि, गत वर्ष अभ्यास खेल खेलेको थियो । जसमा अमेरिकाले पाँच विकेटले बाजी मारेको थियो । नेपाल र अमेरिका बीचको इतिहास हेर्दा नेपाल नै अमेरिका माथि हाबी देखिएको छ । अमेरिका विरुद्वको १० एक दिवसीय खेलमा नेपालले पाँच खेलमा जित हात पारेको छ भने तीन खेल अमेरिकाले आफ्नो पक्षमा पारेको छ । दुई खेल रद्द भएको थियो । नेपालले विश्व क्रिकेट लिगको डिभिजन–५ र डिभिजन–४ को उपाधि जित्दा अमेरिकालाई नै पराजित गरेको थियो । अमेरिका डिभिजन १ मा उपविजेता हुँदै छनोट भएको थियो ।
सन् २००४ मा अस्ट्रेलिया र इंग्ल्यान्डसँगै आइसिसी च्याम्पियन्स ट्रफी खेलिसकेका अमेरिकाको पछिल्लो प्रदर्शन भने फितलो छ । क्रिकेट बोर्डको विवादले अमेरिकाको प्रदर्शन निरन्तर खस्कँदै गएको अवस्थामा प्रमुख ब्याट्सम्यान स्टेभन टेलर नखेल्ने भएपछि अमेरिका थप कमजोर बन्ने देखिएको छ । हालै मात्र आइसिसीबाट पुनः प्रतिबन्धमा परेको अमेरिका डिभिजन ४ मा झरिसकेको छ । यसपटकको छनोटमा अमेरिकालाई औसत टोलीको रूपमा लिइएको छ । विश्वकप छनोट अघिको अभ्यास खेलमा अमेरिकाले नर्थ वेस्ट वारियर्सलाई पाँच विकेटले पराजित गरेको थियो भने केन्यासँगको खेल खराब मौसमका कारण स्थगित भएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टोलीको लक्ष्य टि–२० विश्वकपमा छनोट हुनु मात्र नभएर छनोट प्रतियोगिता नै जित्नु रहेको बताएका थिए । तर, कप्तान पारसले भने जस्तो नेपालको पछिल्लो प्रदर्शन खासै राम्रो देखिएको छैन । भारत, इंग्ल्यान्ड र नेदरल्यान्डमा अभ्यास खेल खेलेको नेपालको यसपल्टको मुख्य समस्या फेरि ब्याटिङमै देखिएको छ । विश्वकप सहभागितापछि खेलेका पाँच टि–२० अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार खेलमा पराजय बेहो¥यो । नेपाल तुलनात्मक रूपमा कमजोर मानिएको युएईसँग पनि पराजित भएको थियो । नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा एक ऐतिहासिक जित निकाले पनि त्यसमा नेपालको प्रदर्शन राम्रो थिएन । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले इनिङको राम्रो सुरुआत गर्न नसक्नु र
ब्याट्सम्यानले स्थिति बुझेर सम्हालिएर खेल्न नसक्नु नै टोलीको मुख्य समस्या रहेको बताइरहेको छ ।
टि–२० छनोट खेलमा नेपालले समूह चरणमा हङकङ र पपुवान्युगिनीबाहेक अन्य चार प्रतिद्वन्द्वी अमेरिका, नामिविया, आयरल्यान्ड र जर्सीसँग पहिलोपटक खेल्दै छ । हङकङसँगको सात खेलमध्ये नेपालले चारमा जित र तीनमा हार बेहोरेको छ । पपुवान्युगिनीसँग खेलेको तीन खेलमा भने दुई जित र एक हारको नतिजा निकालेको छ । हङकङ र पपुवा न्युगिनीसँगको खेल केही सहज हुने अनुमान गरिए पनि नेपाललाई समूह चरणका सबै खेल कठिन हुने
देखिएको छ ।
आइसिसीका एसोसिएट १४ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताबाट शीर्ष ६ टोली विश्वकपमा छानिनेछन् । हरेक दुई वर्षमा आयोजना हुने टि–२० विश्वकपको आगामी संस्करण सन् २०१६ मा भारतमा हुँदै छ ।

स्कटल्यान्डको फराकिलो जित

इडेनवर्ग । आयोजक स्कटल्यान्डले टि–२० विश्वकप छनोटमा विजयी सुरुआत गरेको छ । बिहीबार सुरु भएको खेलमा घरेलु टोली स्कटल्यान्डले युएईमाथि ९ विकेटको फराकिलो जित निकालेको हो ।
बिहीबार स्कटल्यान्डको इडेनवर्ग क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स(युएई) ले दिएको ११० रनको सामान्य लक्ष्य आयोजक स्कटल्यान्डले एक विकेटको क्षतिमा १० ओभरमा पूरा ग¥यो । स्कटल्यान्डका लागि जर्ज मुन्सेले ३६ बलमा अविजित ६२ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । यस्तै, केइल कोइट्जरले ३९ रनको योगदान दिए । कलुम म्याकलियोड सात रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले १८.१ ओभरमा १०९ रन मात्र बनाउन सक्यो । युएईका कुनै पनि ब्याट्सम्यानले गतिलो योगफल तयार पार्न सकेन । उसका मोहम्मद नाभिद १९ रनमा अविजित रहे । फइजन असिफ १७, अजमद अलिर मोहम्मद सहजदले समान १४–१४ रन तथा उमर अलिले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेन । युएईलाई सस्तैमा समेट्ने क्रममा मार्क वाट र मिचेल लिस्कले समान तीन–तीन विकेट लिए । सफयान सरिफ र अलासडेर इभान्सले एक–एक विकेट लिए ।

Comment