आर्चरी र फेन्सिङमा चुनौती समाप्त

archary

दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत आर्चरी र फेन्सिङमा  नेपालको चुनौती समाप्त भएको छ ।        ग्वाङजु इन्टरनेसनल आर्चरी सेन्टरमा भएको पुरुष व्यक्तिगत रिकर्भको ७० मिटर दूरीको इलिमिनेसन राउन्डमा नेपालका प्रकाश गुरुङ मंगोलियाका खेलाडीसंग ०­­–६ ले पराजित भए ।

सोही स्पर्धाको महिलामा नेपालकी कृष्णामाया स्याङतानले मिश्रित प्रदर्शन गरिन् । कृष्णाले स्लोभायाकी खेलाडीलाई ६­–२ ले हराइन् । त्यसपछिको खेलमा कृष्णा मेक्सिकोकी खेलाडीसंग ०–६ ले चुकिन् । फेन्सिङको पुरुष फोइल स्पर्धाको पुल ‘जी’ को लिग खेलमा नेपालका सन्जिप लामाले एक खेलमा जित हात पारे भने अन्य खेलको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पे । लिगमा सन्जिपले ५ प्रतिद्वन्द्वी विरुद्ध प्रतिस्पर्धा गरेका थिए ।

किम डाइजुङ कन्भेन्सन सेन्टरमा सन्जिपले ब्राजिलका हेन्रिक ताभियन परीरा माक्वेर्सलाई ५–४ ले निराश पारे । त्यस्तै सन्जिप इटालीका अलेजेन्ड्रो परोलीसंग ३–५, हङकङका ताङ पुइ तिङसंग २–५, रसियाका रोमन कुट्ससंग ४–५ तथा चीनका डोङ लिसंग १–५ ले पछि परे ।

अब नेपाली खेलाडीले ब्याडमिन्टन, टेबलटेनिस, पौडी र तेक्वान्दोमा प्रतिस्पर्धा गर्न बाँकी छ । जुलाइ १४ तारिखसम्म चल्ने प्रतियोगितामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् ।

 

Comment