पश्चिमाञ्चल र मध्यमाञ्चललाई उपाधि

Manoj Shiama
23 June, 2015 9:13 am

volleyball winner
भलिबलको छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल पहिलो भए । दुवै समूहको फाइनलमा पश्चिमाञ्चल र मध्यमाञ्चल नै भिडेका थिए ।
छात्रको फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१८, २५–१८, २५–२७, २६–२८ र १५–९ को सेटमा पराजित ग¥यो । छात्राको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २५–१५, १९–२५, २५–१९ र २५–२३ को सेटमा हरायो ।
छात्रमा पश्चिमाञ्चलका कमल सुनार र छात्रामा मध्यमाञ्चलकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताअन्तर्गत अघिल्लो दिन सम्पन्न तेक्वान्दो, कराते र उसुमा मध्यमाञ्चलले उपाधि जितेको थियो । टिम च्याम्पियनको उपाधिमा यि तीन खेलको अंक भने जोडिएको छैन ।
विजेतालाई प्रमुख जिल्ला अधिकारी, कास्कीका कृष्णबहादुर राउत, सशस्त्र प्रहरी बलका उपरिक्षक गणेश संग्रौला, राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य–सचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, जिल्ला शिक्षा अधिकारी अम्बिकाबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगिताको एथलेटिक्समा २६, भलिबलमा २, करातेमा ८ तथा उसु र तेक्वान्दोमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पाँच विकास क्षेत्रबाट ७४ का दरले जम्मा ३ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिता पहिलो मोफसलमा आयोजना गरिएको हो । अघिल्ला सबै संस्करण काठमाडौंमा भएको थियो ।