मध्यपश्चिमाञ्चललाई पहिलो पटक राष्ट्रपति रनिङ सिल्ड

ath bestath1

मध्यपश्चिमाञ्चलले सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मध्यपश्चिमाञ्चल पहिलोपटक टिम च्याम्पियन बनेको हो । मध्यपश्चिमाञ्चलले जम्मा २ सय ४२ अंक जोड्यो ।
मध्यपश्चिमाञ्चलका एथलेटिक्स टिम प्रशिक्षक चन्द्र गुरुङले एथलेटिक्सको टिम बलियो भएकाले उपाधि जित्न सफल भएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल १ सय ९७ अंकमा दोश्रो भयो भने १ सय ६९ अंकसाथ मध्यमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार हात पारे । १ सय १५ अंकमा पूर्वाञ्चल चौथो तथा ९२ अंकमा सुदूरपश्चिमाञ्चल पाँचौं स्थानमा रहे ।
प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन पोखरा रंगशालामा भएको छात्राको ८ सय मिटर दौडमा पश्चिमाञ्चलकी गुडिया गुप्ता पहिलो भइन् । गुडियाले निर्धारित दूरी २ मिनेट ३९.१ सेकेन्डमा पूरा गरिन् । मध्यमाञ्चलकी अमिसा श्रेष्ठ दोश्रो र मध्यपश्चिमाञ्चलकी मञ्जु विसी तेश्रो भए । सोही स्पर्धाको छात्रमा पूर्वाञ्चलका रविलाल पुरीले बाजी मारे । रविले निर्धारित दूरी २ मिनेट ०८.५ सेकेन्डमा पूरा गर्दै शीर्ष स्थानमा रहे । सुदूरपश्चिमाञ्चलका धनबहादुर साहु दोश्रो तथा पश्चिमाञ्चलका प्रभुनाथ कुँवर तेश्रो बने ।
छात्राको २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी प्रमिला चौधरी पहिलो भइन् । प्रमिलाले २८.७२ सेकेन्ड समय लगाइन् । पश्चिमाञ्चलकी विन्दु थापा दोश्रो र मध्यपश्चिमाञ्चलकी तारा मल्ल तेश्रो भए । त्यसै स्पर्धाको छात्रमा मध्यपश्चिमाञ्चलका सुनील चौधरीले सबै प्रतिद्वन्द्वीलाई उछिन्दै शीर्ष स्थान कब्जा गरे । उनले २३.९१ सेकेन्ड समय खर्चे । मध्यपश्चिमाञ्चलकै सुवास रत्गैया दोश्रो र पश्चिमाञ्चलका शक्ति सापकोटा तेश्रो भए ।
छात्राको ट्रिपलजम्पमा पूर्वाञ्चलकी लक्ष्मी श्रेष्ठ पहिलो भइन् । लक्ष्मीले ९.२१ मिटर जम्प गरिन् । मध्यपश्चिमाञ्चलकी राधा चौधरी दोश्रो तथा पश्चिमाञ्चलकी सुन्दरी थारु तेश्रो भए । उक्त स्पर्धाको छात्रमा १२.५० मिटर जम्म गरेका मध्यमाञ्चलका भुवन महतो पहिलो भए । मध्यपश्चिमाञ्चलका सुवास रत्गैया दोश्रो तथा पूर्वाञ्चलका श्याम चौधरी तेश्रो भए ।
छात्रमा सुनील चौधरी र छात्रामा प्रमिला चौधरी उत्कृष्ट खेलाडी चुनिए । मध्यपश्चिमाञ्चलका दुवैले समान ४–४ स्वर्ण जिते । सुनीलले १ सय र २ सय मिटर दौड तथा ४ गुणा १०० र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण हात पारे । प्रमिलाले १ सय र २ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर दौडमा स्वर्ण चुमिन् । प्रमिलाले थप १ कांस्य पनि हात पारिन् ।

 

Comment