आत्म समीक्षासहित कार्यकालको अन्त्य

lama1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालमा ७५ प्रतिशत सफलता पाएको दाबीसहित मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चार वर्षे कार्यकालको अन्त्य गरे  ।
उनको यो दाबीमा  प्रतियोगिता सञ्चालन र प्रशिक्षण, पूर्वाधार निर्माण, पुरस्कार वितरण र पद्धति निर्माणका आधारमा आफ्नो कार्यकाल सफल भएको उनको दाबी थियो । तथापि, उनले आफ्नो असफलताको कारणमा अन्य पक्षमा दोष थोपरे पनि तेक्वान्दो युनियन र तेक्वान्दो संघको विवाद, क्रिकेट संघमा देखिएको समस्या र गत इन्चोन एसियाडमा समग्र राज्य पक्षको हार पनि महत्वपूर्ण रहे । लामो समयदेखि हुन नसकेको नेपाल क्रिकेट संघको निर्वाचन गराए पनि संघका पदाधिकारीहरू भ्रष्टाचारमा मुछिएपछि उनले क्रिकेटको सवालमा चुकेको स्वीकारे । उनले क्रिकेट विकास बोर्डको प्रस्ताव अघि सारेर यसलाई सच्याउन खोजेको जनाएका छन् ।
युवराज लामाको कार्यकाल भिन्न कारणले चर्चामा रहे । खासमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसँग भएको तनावपूर्ण वातावरणले उनको कार्यकाल चर्चामा रह्यो । लामासहित ६ सदस्यको पदावधी सकिएको दाबीसहित मन्त्री पौडेलले पदावधी पूरा भएको घोषणालाई लामाले स्वाभाभिक रूपमा लिए पनि अदालतबाट स्टे अर्डर पाइसकेपछि असहयोग गर्नुलाई संकर्णीताको संज्ञा दिएका छन् ।
एकीकृत नेकपा माओवादीका कोटाबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवका रूपमा २०६८ जेठ २९ मा पदभार सम्हालेका युवराज लामाले पदभार सम्हालेका थिए  । लामा कार्यकालमा भिन्न रूप देखिए । सदाझँै खेलकुदमा आउने शक्तिको चाकडी गर्दै फाइदा लिने प्रवृत्तिको सिकार लामा पनि भए । कर्मचारीतन्त्र र प्रशासनको यो समस्या बुझ्न नै उनलाई लामो समय लाग्यो । खेलकुदमा सरोकार राख्ने यसैखाले प्रवृत्तिको एउटा झुन्डले लामालाई एक वर्षभन्दा बढी समय घेरिरह्यो । लामाको शक्ति सन्तुलन मिलाउने सोचका कारण  यो प्रवृत्तिले अत्यधिक फाइदा पनि लियो ।
इन्चोन एसियाडमा राज्यको खेलकुद निकाय असफल भए पछिको पत्रकार सम्मेलनमै लामाले आफूमा केही कमजोरी भएको स्वीकारेका थिए । तथापि, राज्यका खेलकुद निकायका दुई जिम्मेवार व्यक्तित्व परिषद् अध्यक्ष र उपाध्यक्षले राज्यको असफलताको जिम्मेवारी बहन गर्न नसक्नुले तलनात्मक रूपमा लामा उदार देखिए ।
खेलकुदलाई विद्यालय तहदेखि नै विकास गर्नुपर्छ भन्ने मान्यता बोकेका लामाले इन्चोन एसियाडपछि केही राम्रा निर्णय पनि गरे ।
मन्त्रालय चलाए पनि खेलकुद परिषद्को कार्यकारी पद नपाएको सत्तारूढ दल एमालेको विचारमा सहमत  राम्रा खेलकर्मीलाई लामाले नै महत्वपूर्ण जिम्मेवारी सुम्पिए । तालिम तथा प्रशिक्षण विभागमा कराते प्रशिक्षक महेन्द्र राइलाई उपनिर्देशक बनाउनु र विद्यालय खेकलुदको जिम्मेवारी दिनुले लामा आफू मिहेनती व्यक्तिको साथ दिन तयार भएको संकेत गरे ।
लामाले चार वर्षे कार्यकालमा नेपाली खेलकुदलाई चलायमान बनाइराख्न सक्नुलाई सफलता  मान्छन् ।
सदस्य–सचिवका रूपमा नियुक्ति भएपछि उनले थुप्रै संघको निर्वाचन गराए । ओलम्पिक कमिटीको विवादमा उनको मत सधैँ एकनास रहन सकेन । ढाका सागमा तीन खेलाडी मात्र सहभागी स्पर्धामा पनि पदक गुमाउने प्रशिक्षकलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक बनाउने गल्ती लामाले गरे । ग्वान्जाउ एसियाडमा एक मात्र पदक जितेको बक्सिङका प्रशिक्षक प्रचण्ड शर्मा उनकै कार्यकालमा मुख्य प्रशिक्षकबाट हटाइए ।
०६८ मा सुदूरपश्चिमको धनगढी, टीकापुर र महेन्द्रनगरमा छैटौँ बृहत् राष्ट्रिय खेलकुद सम्पन्न हुनु र  ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेश सयर नगर्नु लामाका सकरात्मक पाटा रहे ।
एनओसीसँग पानी बाराबारको अवस्थामा पनि खेलाडीको अन्तर्राष्ट्रिय सहभागितामा कहिल्यै तगारो नबन्नु र  सरकारी बजेटमा प्रभावकारी लविङ गरेर खेलकुदलाई प्राथमिकतामा राख्नु उनको कार्यकालको सफलता रहे ।  वर्षौभरि राष्ट्रिय टोलीलाई विशेष प्रशिक्षणको व्यवस्था गर्नु र   दक्षिण एसियाली खेलकुद र ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गर्नु उनको सकरात्मक पाटो बन्यो ।
प्रशिक्षक र राष्ट्रिय संघको पनि हौसला बढाउन पुरस्कारको व्यवस्था गर्नु उनको राम्रो पाटो बन्यो ।
उनले सबैखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोतिगाको वर्गीकरण गरी त्यही अनुसारको पुरस्कार दिने कायविधि पनि आफ्नै कार्यकालमा गराए । तथापि, यो पूर्णवैज्ञानिक नभएको धेरै खेलकर्मीले ठहर गरे ।
भौतिक पूर्वाधार निर्माणमा पनि लामाको कार्यकाल उल्लेख्य रह्यो । उनकै कार्यकालमा २४० निर्वाचन क्षेत्रका सबै ७५ जिल्लामा सेमि कभर्डहल निर्माण गर्ने तथा दशरथ रंगशाला पुनर्निर्माणको काम सुरु भइसकेको छ । यसैगरी, कीर्तिपुरमा क्रिकेटका लागि इन्डोर अभ्यासस्थल तथा मूलपानीको बहुचर्चित क्रिकेट रंगशाला निर्माणको काम लामाकै कार्यकालमा सुरु भएको छ । भौतिक पूर्वाधारमा जोड दिनेलगायत काम लामाको खेलकुदमा उल्लेख्य कार्य हुन्
आफ्नो कार्यकाल सकिए पनि लामाले भावी योजना पनि सुनाएका छन् । हालै आएको भूकम्पका कारण धराशयी बनेका खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनले बताएका छन् ।
राखेपको कार्यलय रहेको धवन भत्काएर खाली गर्दै पौडी पोखरी तथा लङ टेनिस भएको स्थानमा अन्तर्राष्ट्रिय स्तरको ४ हजारसम्मको सिट क्षमता भएको कभर्ड हल बनाउने तथा सोही क्षेत्रमा २० कोठाको प्रशाशनिक भवन योजना सुनाए । पौडी पोखरी र खेलाडी छात्रवास मूलपानी सार्ने प्रस्ताव गरिएको छ ।
आफ्नो कार्यकाल सकिएपछि केही समय आराम गर्ने सोच बनाएका लामाले फेरि आउने मौका पाए पूरै अध्ययन गरेर आउने बताए ।
लामा कार्यकालका थुप्रै पाटा छन् । उनले गरेका निर्णय सही या गलत समयले बताउने छ । तर, सत्य के हो भने लामा कार्यकाल विवाद, स्क्यान्डल र चर्चाको कार्यकाल रह्यो ।
असफलता
तालीम तथा प्रशिक्षण विभागका निदेर्शक चयनमा ढाका सागको खराब इतीहास बिर्सनु
कराते, तेक्वान्दो र क्रिकेटमा विवाद बढ्नु
सुरुआतका समय खराब प्रवृत्तिबाट प्रभावित हुनु
इन्चोन एसियाडमा राज्य पक्ष लाचार हुनु
सफलता
बजेटमा वृद्धि
पुरस्कार राशिमा वृद्धि
भौतिक पुनर्संरचनामा जोड
छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना
राष्ट्रिय टोलीलाई प्रशिक्षणमा राख्नु

Comment