सुभमलाई युनाइट नेपाल थ्रु चेसको उपाधि

Manoj Shiama
5 July, 2026 6:07 pm

भोगलपुर चेस एकेडेमीका सुभम कुमारले युनाइट नेपाल थ्रु चेस प्रतियोगिताको उपाधि जितेका छन् । उनले ९ चरणको खेलमा ८ अङ्क जोडे । समान अङ्क भएका भक्तपुरका स्वर्णिम दुवाल दोस्रो तथा भोजपुरका कुमार विक तेस्रो भए । दोलखाका सुमन मोक्तान चौथो भए । विजयी कुमारले २५ हजार तथा उप विजयी स्वर्णिमले २० तथा कुमारले १५ हजार र मोक्तानले १० हजार रुपैयाँ पुरस्कार पाए । 

महिला तर्फ राधिका पौडेल पहिलो, पूजा भण्डारी दोस्रो तथा डेनिसा पुरी तेस्रो भए । 

विजयी खेलाडीलाई आयोजक थापाथली चेस पार्कका अध्यक्ष सानु राज बज्राचार्य, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष दिपेन राई,, कोशाध्यक्ष वीर बहादुर रावत तथा प्रतियोगिताका प्रायोजक डा मोहन सिंह प्रधान र ब्रिटिस इन्टरनेसनल कलेजका प्रिन्सिपल राजन राई लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल र भारतका समेत गरी २४० जना खेलाडीको सहभागिता थियो । नेपालका ७६ जिल्लाका खेलाडीको प्रतियोगितामा सहभागिता थियो । 

२०८१ साल देखि मोहन सिंह प्रधानले चेस मार्फत नेपाललाई भावनात्मक रूपमा एकीकृत गराउने सोचका साथ प्रतियोगिताका लागि प्रायोजन गर्दै आएका हुन् । यस संस्करण आफ्नो ससुरा सहदेव कर्माचार्य र सासु जानकी कर्माचार्यको स्मृतिमा सो प्रतियोगिता गरिएको प्रधानले बताए ।