जापानी संस्थाद्वारा काभ्रेमा जस्तापाता वितरण

dharma
भूकम्प पीडितका लागि राहत स्वरुप जापानको पि. फ्लास्टर कम्पनी लिमिटेड, केआई युनिभर्सिटी र कासिवा निहिसी रोटरी क्लबले काभ्रेको बोल्धेफेदीसे गाविसको वडा नं. १ मा जस्तापाता वितरण गरेको छ ।
जुडो खेल, शिक्षालगायत विभिन्न गतिविधि मार्फत अनाथ र असाहय बालवालिकालाई संरक्षण गर्दै आइरहेको संस्था बाल वातावरण केन्द्र नेपाल (सीडब्लुसीएन) को पहलमा उक्त वडाका ४७ घरधुरीलाई डेढ बन्डलका दरले जस्तापाता वितरण गरियो । त्यस्तै दोर्जेघ्याङ प्राविका विद्यार्थीलाई कापी, कलम, डटपेन, पेन्सिल र इरेजर प्रदान गरिएको थियो । करिब ५ लाख मूल्य बराबरको राहत वितरण गरिएको सीडब्लुसीएनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
त्यसअघि उक्त तीन संस्थाले हलचोक डाँडाका भूकम्प पीडित १ सय २० घरधुरीलाई चामल, दाल, चिनी र नुन राहत बाँडेको थियो । काठमाडौंकै शान्ति निकुञ्ज र अरुणोदयका विद्यार्थीलाई कापी, कलम, डटपेन, पेन्सिल र इरेजर दिइएको थियो ।
धर्मकुमार श्रेष्ठसहित फ्लास्टरका प्रतिनिधि श्याम महर्जन, केआईकी प्रतिनिधि ताजीमा मिउमी, रोटरीका प्रतिनिधि दिनेश महर्जनलगायतले राहत वितरण गरे ।

Comment