नवौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

Manoj Shiama
26 December, 2025 6:24 am

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा ३ विभागीयसहित ५ टोलीको सहभागिता रहने बिहीबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए । नेपाल प्रहरी, नेपाली सेना, एपीएफ, न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्टलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनका अवसरमा विगतमा झैँ एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरिने छ ।

खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । सुरुका ६ संस्करणको उपाधि एपीएफले जितेको थियो । सातौँमा न्यु डायमन्ड च्याम्पियन बनेको थियो भने गत संस्करणमा प्रहरी पहिलो भएको थियो ।

पत्रकार सम्मेलनमा नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर गरेका थिए । प्रतियोगितालाई राखेप, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, विभिन्न कर्पोरेट हाउस र पालिकाको सहयोग रहेको आयोजकले जनाएको छ ।

कन्ट्री हेड मिश्रले प्रतियोगिताको उँचाइ बडेसँगै प्रतियोगिताप्रति संस्थाको माया पनि बढ्दै गएकोले बजेट विनियोजनलाई निरन्तर दिएको बताए ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

प्रतिष्ठानका अध्यक्ष खड्काले हरेक खेलाडी र टेक्निकल टिमका सदस्यको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको बताए ।

महिला खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतिष्ठानले २०७२ सालदेखि प्रतियोगिताको सुरुआत गरेको थियो ।