भक्त राना स्मृति चेसमा २०० भन्दा बढी खेलाडीको सहभागिता

Manoj Shiama
25 August, 2025 8:59 pm

भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगितामा सहभागी खेलाडीको सङ्ख्या २०० पार गरेको छ । रोयल एयरपोर्ट होटेल, काठमाडौँमा आयोजना हुने १९०० भन्दा कम रेटिङको सो प्रतियोगितामा नेपाल र भारतका समेत गरी २०० जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक संस्था अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष दिपेन राईले जानकारी दिए । 

प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ । बुधवार र बिहीबार हुने सो रेपिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गर्ने छन् । 

प्रतियोगिताको आयोजक अखिल नेपाल बुद्धिचाल संघले नेपालमा गरेका हरेक प्रतियोगिता व्यवस्थित हुने गरेका छन् । आधा दशक अघि देखि यो सङ्घको देश भरी नै सक्रियता रहेको छ । प्रतियोगिता आयोजना मात्र नभएर चेसकर्मीको सम्मान र व्यक्तित्व विकासमा समेत यो सङ्घ अग्रणी रहेको छ । 

गत वर्ष निधन भएका भक्त राना पूर्व माओवादी लडाकु हुन् । उनी समकालीन माओवादी कार्यकर्ताका माझ भद्र र इमानदार छवि बनाउन सफल भएका थिए ।